चीनबाट ६ अर्बको स्याउ आयात
2022-09-01 16:50:26cri
Share with:

नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तथ्यांकले देखाएको छ।

 

नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तथ्यांक छ। भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो। गत आवमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ। अघिल्लो आव २०७७/०७८ मा नेपालले ५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो भने त्यसअघिको वर्षमा ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको तथ्यांक छ।

 

नेपालले धेरै मुलुकबाट स्याउ आयात गर्ने भए पनि चिनियाँ स्याउको एकाधिकार जस्तै रहेको व्यवसायीहरुले बताउँदै आएका छन्। वर्षैभरी चीनबाट स्याउ आयात हुने गरेको उनीहरुको भनाइ छ। नेपालले गत आवमा कुल ८ करोड ६७ लाख ९६ हजार १९ किलो स्याउ आयात गरेको तथ्यांक छ । यसमध्ये भारतबाट १ अर्ब १६ करोड २१ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ७३ लाख १३ हजार २ सय ४४ किलो आयात भएको छ भने चीनबाट ६ करोड ९४ लाख १८ हजार ८ सय ७१ किलो आयात भएको छ।

 

चीन र भारतबाहेक टर्की, अमेरिका, गिनी बिसाउ लगायत मुलुकबाट स्याउ आयात हुने गरेको छ । भियतनाम र भारतबाट ड्राइ स्याउसमेत आयात हुँदै आएको छ । चीन र भारतबाट स्याउको जुससमेत आयात हुने गरेको तथ्यांक छ।

 

नेपालमा हाल कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट तथा गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा व्यावसायिक स्याउखेती भइरहेको छ । यी जिल्लामा यातायातको पहुँच सहज हुन नसक्दा ढुवानी खर्च अत्यधिक हुने गरेको र जसका कारण आयातित स्याउसँग प्रतिस्पर्धा गर्न कठिन भएको व्यवसायीहरुको अनुभव छ । नेपालमा हाल वार्षिक १ लाख टन स्याउ खपत हुने गरेको छ ।

 

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे स्वदेशी स्याउको उत्पादन वृद्धि र बजार व्यवस्थापन गर्न नसक्दा विदेशी स्याउको पहुँच रहेको बताउनुभयो। “नेपाली अर्गानिक स्याउको ब्रान्डिङ हुन नसक्दा विदेशी स्याउले बजार लिइरहेको छ,” घिमिरेले भन्नुभयो, “सरकारले स्याउका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ ।” विदेशी स्याउ एकनासको, देख्दा आकर्षक हुने भएकाले पनि उपभोक्ताको रोजाइमा परेको उनको अनुभव छ ।

 

कारोबार अनलाइनका अनुसार कर्णालीको हुम्ला, जुम्लामा फलेको स्याउको राम्रो ग्रेडिङ हुन सकेको छैन भने सम्बन्धित जिल्लाबाट ढुवानी गरेर ल्याउन पनि कठिनाइ छ। डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, मनाङ र मुस्ताङ जिल्लामा स्याउखेती हुन्छ। ती जिल्लामा उत्पादित स्याउ ढुवानी गरेर काठमाडौंलगायत प्रमुख सहरमा पुर्‍याउन नसक्दा बजारको कठिनाइ भएको छ।