नेपाली संसदसँगको आदानप्रदानमा चीनको अभिरुचि
2022-09-03 15:56:51cri
Share with:

चीनले नेपाली संसदसँगको आदानप्रदानमा चासो देखाएको छ। शुक्रबार चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ याङले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको भर्चुअल बैठकमा यस्तो आशय प्रकट गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘सीपीपीसीसी नेपालको सङ्घीय सदनसँगको आदानप्रदानलाई गहिरो बनाउन र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन इच्छुक छ।’

 

चिनियाँ संचारमाध्यमका अनुसार वाङ याङले बेइजिङबाट राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहितको टोलीसँग भर्चुअल बैठक गर्नुभएको थियो। उहाँले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमण र दुई देशबीच भएका विकास र समृद्धि उन्मुख आपसी सम्बन्धको पुस्तौँ रणनीतिक साझेदारीबारे स्मरण गराउनुभयो।

 

नेपाल र चीनबीच मित्रताको लामो इतिहास रहेको चर्चा गर्दै उहाँले सीको नेपाल भ्रमणताका भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, रणनीतिक सञ्चार र व्यावहारिक सहयोगलाई सुदृढ गर्न, उच्च गुणस्तरीय ‘बेल्ट एण्ड रोड’को संयुक्त निर्माण गर्न र जनस्तरीय सम्बन्ध सघन बनाउन नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो।

 

छलफलमा उहाँले विश्वव्यापी विकास तथा सुरक्षा पहलहरूमा सक्रिय रूपमा समर्थन र सहभागी हुन नेपाली पक्षलाई स्वागत गरेको बताउनुभयो। 

 

कुराकानीमा राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले नेपालले चीनसँगको सम्बन्धलाई निकै महत्व दिएको बताउँदै एक चीन नीतिलाई दृढताका साथ पालना गर्ने र आपसी सहकार्यमा थप उपलब्धिको अपेक्षा गरेको बताउनुभयो। कान्तिपुर अनलाइनका अनुसार उहाँले पनि नेपालको संघीय सदनले सीपीपीसीसीसँग मिलेर आपसी सम्बन्धको विकासलाई सहज बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।