जलवायु सङ्कटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउने नेपालका वातावरणमन्त्रीको भनाइ
2022-09-05 16:09:06CRI
Share with:

नेपालका वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताउनुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु सङ्कटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताउनुभएको न्युजपोलार अनलाइनले लेखेको छ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ। नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको छ। नेपालमा जलवायु सङ्टकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको छ। हामी यसको तयारीमा छौँ।” यसैगरी मन्त्री यादवले उक्त विषयमा सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु सङ्कटमा पुगेको घोषणा गरिने जानकारी पनि दिनुभयो।

उहाँले सङ्कटकाल घोषणाका लागि मन्त्रालयले यसको ‘मोडालिटी’ खोज्ने तयारी थालेको पनि बताउनुभयो। उहाँले भन्नुभयो, “जलवायु सङ्कटकाल र जलवायु सङ्कट घोषणा गरिरहँदा तथ्यमा आधारित प्रमाण चाहिने भएकाले सोहीअनुसार हामी आगाडि बढिरहेका छौँ।”

जलवायु परिवर्तन भइरहेको र यसका कारण उत्पन्न समस्या एवं असरका बारेमा सबै जानकार नै रहे पनि जलवायु सङ्कट तथा सङ्कटकाल घोषणा गर्न के कसरी मिल्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको उहाँको भनाइ थियो। उहाँले यसै विषयमा केन्द्रित रहेर मन्त्रालयले गृहकार्य थालेको जानकारी दिनुभयो