पछिल्लो एक साता निक्षेपमा ११ अर्ब सुधार
2022-09-06 16:00:48CRI
Share with:

पछिल्लो एक साता नेपालका वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार भदौ १० देखि १७ गतेसम्म वाणिज्य बैंकहरुमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको कान्तिपुर अनलाइनले लेखेको छ। एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ १० गतेसम्म कुल ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भदौ १७ गतेसम्म ४४ खर्ब ३७ अर्ब पुगेको छ।

यद्यपि समग्रमा असार मसान्तसम्मको तुलनामा निक्षेप १ खर्ब ४ अर्ब घटिसकेको छ। असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। चालु आर्थिक वर्ष (साउन) लागेदेखि निरन्तरजसो निक्षेप घट्दै आएको थियो। निक्षेपमा आएको कमीका कारण अधिक माग हुँदा पनि बैंकहरुले कर्जा दिन सकेका छैनन्। भदौ १० देखि १७ गतेसम्म एक साताको अवधिमा थप १ अर्ब मात्रै कर्जा प्रवाह भएको छ। चालु आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म थप ६ अर्ब मात्रै कर्जा प्रवाह भएको छ। असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा भदौ १७ गतेसम्म आउँदा ४१ खर्ब ८१ अर्ब पुगेको छ।