नेपालमा ५ वर्षभित्र ३ हजार मेगावाट विद्युत्‌ माग हुने
2022-09-11 15:57:17CRI
Share with:

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी ५ वर्षभित्र नेपालमा ३ हजार मेगावाट विद्युत्‌को माग हुने बताउनु भएको छ। कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको 'पावरप्वइन्टदेखि पावरलाइन्ससम्म' शीर्षकको सत्रमा बोल्दै घिसिङले आगामी केही वर्षभित्रमै नेपालमा ३ हजार मेगावाट विद्युत्‌को माग हुने बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

कन्क्लेभमा बोल्दै उहाँले अहिले घरेलु उपयोगमा माग बढिरहेको बताउनु भएको हो। एक वर्षभित्र बांग्लादेशलाई सांकेतिक रूपमा भए पनि ५० देखि १०० मेगावाटसम्म विद्युत् निर्यात गर्ने र त्यसको प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो।

यसका साथै एक वर्षभित्र बांग्लादेशलाई सांकेतिक रूपमा भए पनि ५० देखि १०० मेगावाटसम्म विद्युत् निर्यात गर्ने अवस्थामा नेपाल पुग्ने भन्दै उहाँले त्यसको प्रक्रिया सुरु भइसकेको बताउनुभयो। 'हाम्रो अहिले क्षमता भनेको २२०० मेगावाट हो। हामीले अहिले ४०० मेगावाट विद्युत् निर्यात गरिरहेका छौं। ट्रान्समिसन कनेक्टिभिटी ४०० केभीएको छ भने ७ वटा १३२ केभीएको लाइन छ। अहिले भारतलाई २ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने हाम्रो अवस्था छ। एक वर्षपछि यो क्षमता वृद्धि भएर ४५ सय मेगावाटसम्म पुग्छ। हामीले वर्ष दिनभित्रै एउटा ४ सय केभीए र एउटा १३२ केभीए ट्रान्समिसन लाइन निर्माण पूरा गर्ने लक्ष्य राखेका छौं,' उहाँले भन्नुभयो।

अर्को ५ वर्षमा हाम्रो उत्पादन क्षमता करिब १३ हजार मेगावाट पुग्छ भन्ने अनुमान गरिएको भन्दै निर्देशक घिसिङले लम्की बेरली र इनरुवा पुर्णिया ट्रान्समिसन लाइन निर्माण कार्य अर्को एक-दुई वर्षमा सुरु हुने बताउनुभयो।

'सन् २०२६-२७ सम्ममा निर्यात गर्नका लागि हामीसँग मनग्गे ट्रान्समिसन क्षमताको विकास हुन्छ। पाइपलाइनमा हामीसँग धेरै परियोजनाहरू भएकाले त्यसबेलासम्ममा ७ हजार मेगावाटसम्म विद्युत् उत्पादन हुने देखिन्छ। त्यो समयमा हाम्रो आन्तरिक आवश्यकता ३ हजार मेगावाटसम्म पुग्न सक्छ। बाँकी हामीले निर्यात नै गर्ने हो,' उहाँले भन्नुभयो।

अहिले नेपालले मासिक ४०० मेगावाट विद्युत् निर्यात गरेर २ अर्ब रुपैयाँसम्म कमाइरहेको भन्दै उहाँले अहिलेसम्म नेपालले कूल ६-७ अर्ब रुपैयाँ बराबरको रकम कमाइसकेको बताउनुभयो। '५ वर्षपछिको कुरा गर्ने हो भने हामीले विद्युत् निर्यात गरेर मात्रै २ अर्ब डलर कमाउन सक्छौं; त्योभन्दा बढी पनि हुन सक्छ,' उहाँले भन्नुभयो।

'अर्को दुई वर्षभित्रमा सुख्खा सिजनमा पनि हामीलाई आफ्नै उत्पादनले पुग्ने हुन्छ। भारतसँग विद्युत् किन्नुपर्ने बाध्यता हट्ने छ,' उहाँले भन्नुभयो, 'भारतको सतलज र जीएमआरले बनाउने परियोजना त्यसमा पर्छ। सतलजले करिब २ हजार मेगावाटको परियोजना निर्माण गर्ने छ भने जीएमआरले बनाउने माथिल्लो कर्णालीको विद्युत् बांग्लादेश निर्यात गरिने छ। बांग्लादेशसँग हामीले सम्झौता गरिसकेका छौं। अब हामीले भारत-बांगलादेश-नेपालबीच त्रीपक्षीय सम्झौता पनि गर्ने क्रममा छौं।'

पछिल्लो ४-५ वर्षयता नेपालको आन्तरिक माग २० प्रतिशतले बढेको भन्दै उहाँले ५ वर्षमा अहिले भइरहेको मागको दोब्बर हुने अनुमान गरिएको बताउनुभयो। 'घरेलु क्षेत्रमा पनि विद्युत्‌को माग दिनदिनै बढ्दै गएको छ। विद्युतीय गाडीको माग निकै बढेको छ; त्यसले पनि आन्तरिक विद्युतीय मागलाई बढाएको छ,' उहाँले भन्नुभयो, 'हामीले औद्योगिक र घरेलु प्रयोगका लागि ट्रान्समिसन प्रणाली बनाउनुपर्ने देखिन्छ; त्यो गरिरहेका पनि छौं। काठमाडौं उपत्यकाको मात्रै कुरा गर्ने हो भने पनि यहाँको विद्युतीय प्रणालीलाई भरपर्दो बनाउन आगामी ३-४ वर्षमा ५०-६० बिलियन रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ।'