खासामा रोकिएका कन्टेनर भित्र्याउन खुलाइयो तातोपानी नाका
2022-09-12 18:05:17cri
Share with:

चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न लकडाउन गरेयता ठप्प उत्तरी तातोपानी नाका शनिबारबाट रोकिएका कन्टेनर भित्र्याउन खोलिएको छ। चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैं-तिहार लक्षित सामग्री लोड भएका कन्टेनर ल्याउनमात्रै नाका शनिबारबाट सञ्चालनमा ल्याइएको हो। तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमकाअनुसार चिनियाँ सुरक्षाकर्मी र अधिकारीबाट अनौपचारिकरुपमा रोकिएका कन्टेनर पठाउनमात्रै नाका खोलिएको जानकारी छ। ‘माथिल्लो चीनको तहबाट केही औपचारिकपत्र र सन्देश आएको छैन, न कुनै यति दिन बन्द गर्ने भन्नेबारे खास केही सेडुल आएको छ, तर अनौपचारिकरुपमा रोकिएका कन्टेनर पठाएको भनेर सूचना पाइएको छ,’उहाँले भन्नुभयो। शनिबार र आइतबार गरी ८ वटा कन्टेर तातोपानी नाका भित्रिएकोमा ५ वटामा लसुन, १ खुद्रा, २ वटामा स्याउ लगायतका फालफूलजन्य सामग्री छन् ।

यहाँ आइपुगेका कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर राजधानी सम्बन्धितमा पठाउने प्रक्रिया धमाधम भइरहेको प्रमुख गौतमले उल्लेख गर्नुभयो। यसअघि कोरोना भाइरसकै कारण बन्द भएको नाका ‘चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डको प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइँदैआएको थियो ।

कान्तिपुर अनलाइनका अनुसार तिब्बत अटोनमस रिजन (टार) ले खासाक्षेत्रमा ८ अगस्ट अर्थात् साउन २३ गतेदेखि लगाएको लकडाउनलगत्तै उत्तरी तातोपानी र केरुङ नाका एकैपटक ठप्प बनेका थिए । तातोपानी हुँदै आउने डेढ सयभन्दा बढी दसैं लक्षित सामग्री बोकेका चिनियाँ कन्टेनर उतै थन्किएपछि दसैं-तिहार लक्षित स्याउ, लसुन र नासपातीजस्ता फालफूल कन्टेनरमै कुहिएपछि व्यवसायीले निकायलाई गुहारे।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघ, भन्सार कार्यालय र व्यवसायी कन्टेनर लगायत सम्बन्धित सबै पक्षको पहलकदमीपछि चीनको खासामा रोकिएका दसैं लक्षित सामग्री बोकेका कन्टेनर चीनले पठाएको हो। कोरोना भाइरस नियन्त्रणमा आएपछि तत्काल निरन्तररुपमा तातोपानी नाका खुल्ने चिनियाँ पक्षबाट सन्देश पाइएको उहाँको ठहर छ।

दसैंलक्षित अनुमानित अझै सयभन्दा बढी लत्ताकपडा, जुत्ता चप्पलजस्ता सामग्री बोकेको कन्टेनर खासा, न्यालम र ल्हासामै रहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री, परराष्ट्र मन्त्रालयसहित राजदूतावासमा नाकालाई सहज बनाउनेबारे पहलकदमी गर्न ज्ञापनपत्र बुझाउनेदेखि आवश्यक अनेक अनुरोध गरिरहेको उहाँले उल्लेख गर्नुभयो।

यसैबीच तिब्बतको सिगात्से, केरुङ, खासा, न्यालमजस्ता बोर्डर एरियामा तिब्बती निषेधाज्ञा अझै जारी छ । दिनहुँ पीसीआर चेक भइरहेको छ, त्यसपछि मात्रै अरु बजारिया व्यापारिक गतिविधि खुला गर्ने चिनियाँ रणनीति रहेको चिनियाँ अधिकारीले बताएका छन् । चीनको तिब्बतस्थित व्यवसायी वाङ्दी शेर्पाले कोरोना भाइरस परीक्षणका लागि तिब्बत क्षेत्रको भन्सार र वाणिज्यसँग आबद्ध सबै कर्मचारी र अधिकारी क्वारेन्टाइनमा रहेको बताउनुभयो।

यसअघि कोरोना भाइरस संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’सहित सञ्चालित उत्तरी तातोपानी नाकाबाट कोरोनाकालमै ७७ करोड राजस्व संकलन भएको थियो । मिम्बुमा ३०, सिगात्सेमा २५ र ल्हासामा सयभन्दा बढी कन्टेनर रोकिएका छन् । तिब्बत क्षेत्रमा लकडाउन जारी भएकाले चिनियाँ मेनल्यान्डबाट ल्हासा आउने सवारी ढुवानीका लागि उतै रोक्न तिब्बत सरकारले आदेश दिएको छ।