हुम्लामा हिमपातले उवा बाली नष्ट
2022-09-19 15:58:20cri
Share with:

हुम्लाको नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीमा पाँच सय रोपनी भन्दा बढी जग्गामा लगाएको उवा लगायतका बाली नष्ट भएको छ। पाकेर थन्क्याउने बेला भएको उक्त बाली शनिबार रातिबाट भएको हिमपातले नष्ट गरेको गोरखापत्र अनलाइनले लेखेको छ। 

लिमी हल्जी गाउँका किसान कोन्ज्योक निमा तामाङले हिमपातले पाकेर थन्क्याउने समय हुन लागेको उवा बाली नष्ट गरेको बताउनुभयो। उहाँको मात्र बिस रोपनीमा लगाएको उवा बाली नष्ट भएको छ। उहाँले हिउँले राम्रो भएको उवा बाली ढालेर क्षति पुर्‍याएको बताउनुभयो। उहाँले अब किसानसँग हिउँले क्षेत्री पुर्‍याएको बाली हेर्नुको अन्य विकल्प नभएको बताउनुभयो। 

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले तीन वटै तील, हल्जी र जाँङ गाउँका किसानले पाँच सय रोपनी भन्दा बढी जग्गामा लगाएको उवा, केराउ, फापर लगाएको बाली नष्ट गरेको बताउनुभयो। अबको डेढ हप्ता भित्र उक्त बाली किसानले भित्र्याउने कार्य सुरु हुने थियो। उहाँले एक फिट भन्दा बढी हिमपातले पाकेको उवा बालीलाई ढालेर कामै नलाग्ने गरी क्षति पुर्‍याएको बताउनुभयो।

लिमीमा उक्त बाली वर्षमा एक पटक मात्र पाक्ने गर्छ। त्यही बाली पनि हिमपातले नष्ट भएपछि किसानहरू मर्कामा पर्नु भएको हो। उहाँले हिमपात जारी नै रहेको कारण यसबाट पुगेको क्षतिको विवरण भने अहिले नै केही भन्न नसकिने बताउनुभयो। उहाँले यो बालीलाई हिमपातले क्षति पुर्‍याए पछि किसानहरूलाई भोकमरी समस्या हुने अवस्था सृजना भएको बताउनुभयो। 

विगतमा यति चाँडै हिमपात नभएको सुनाउँदै उहाँले अघिल्लो वर्ष उवा छर्ने बेला हिमपात भएको कारण सो कार्य ढिलाइ भएको बताउनुभयो। 

गाउँपालिका अध्यक्ष प्रेम लामाले हिमपातको कारण बालीमा हालसम्मकै ठुलो क्षति पुगेको बताउनुभयो। लिमीका तिनै गाउँका किसानहरूले अन्नबाली नष्ट भएपछि क्षति ब्यहोर्नु परेको बताउँदै उहाँले किसानहरूलाई राहत सहयोग उपलब्ध गराउनका लागि सबैलाई सहयोग गर्न अपिल गर्नुभयो।

लिमीमा १४७ घरधुरीका एक हजार भन्दा बढी जनसङ्ख्या रहेको छ। लिमी जाने नारा र न्यालु नाका हिमपातले बन्द भएको कारण क्षतिको विवरण लिन गाउँपालिका र कृषि विकास कार्यालयलाई समस्या देखिएको छ। हिमपातले नाम्खा गाउँपालिका–५ को यारी क्षेत्रमा पनि खेतीपातीमा क्षति पुर्‍याएको खबर भए पनि क्षतिको बारेमा भने विवरण आएको छैन।