पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सूर्योदयमा फोटो प्रतियोगिता
2022-09-21 18:22:55cri
Share with:

विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले फोटो प्रतियोगिता गर्ने भएको छ। एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको गोरखापत्र अनलाइनले लेखेको छ।

सूर्योदय नगरपालिकाले पत्रकार भेटघाटको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ। नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका इन्जिनियर सृजन गदालले जानकारी दिनु भयो।

प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० र तृतीय हुनेले ५ हजार रुपियाँ प्राप्त गर्नेछन्। सूर्योदय नगरपालिकाको पर्यटन प्रवर्द्धनमा योगदान गर्न सक्ने फोटो माग गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो। सहभागीले बढीमा ५ वटासम्म फोटो पठाउन सक्नेछन्। फोटोसँगै कम्तीमा ५० शब्दको विवरण समेत लेख्नु पर्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले ड्रोनबाट खिचेको तस्बिरलाई प्रतियोगितामा सहभागी नगराउने जनाएको छ। असोज ९ गते राति १२ बजेसम्म फोटो पठाउने मिति तोकिएको छ। नगरले फर्म भरेर फोटो पठाउन आह्वान समेत गरेको छ। फोटो सूर्योदय नगर क्षेत्रमा रहेका विभिन्न स्थानको २०७९ साल भित्र खिचेको हुनु पर्ने नगरका सूचना प्रविधि अधिकृत उज्ज्वल सुवेदीले जानकारी दिनु भयो।प्रयोग भैसकेको फोटो प्रतियोगितामा सहभागी गराइने छैन। 

नगरमा कन्याम, अन्तु, बुद्धपार्क , स्वामीपार्की , चित्रे गुम्बा लगायतका दर्जनौँ पर्यटकीय स्थल रहेका छन्। यस अघि नै प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरिसकेको छ। प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नु भयो‘ पर्यटकीय स्थलको थप  प्रवर्धन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो।’