दस‌ैंलाई १५ स्थानमा यात्रु सहायता कक्ष
2022-09-22 15:44:31cri
Share with:

नेपालको यातायात व्यवस्था विभागका अनुसार नयाँ बसपार्क, बल्खु, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायत १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दसैं-तिहारका बेला यात्रु नठगिउन् भनेर उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्व मनाउन घर जाने यात्रुसँग मनपरी भाडा असुल्ने गरेको गुनासा आउने गरेका कान्तिपुर अनलाइनले लेखेको छ।

पूर्व जाने यात्रुलाई मध्यनजर गर्दै यसपटक काभ्रेको साँगामा यात्रु सहायता कक्ष स्थापना गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले बताउनुभयो। उहाँका अनुसार उक्त सहायता कक्षमा ट्राफिक प्रहरी, विभागका कर्मचारी र उपभोक्ता अधिकारकर्मी बसेर यात्रुलाई टिकट काट्नेदेखि घर जानसम्म सहजता प्रदान गर्ने काम गर्ने छन्। टिकट बुकिङकालागि अहिले नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानका काउन्टरमा यात्रुको भीड छ।

विभागले यात्रुवाहक सवारीलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुल्ला गर्ने निर्णय गत भदौ २२ गते नै गरिसकेको छ। ‘अहिले गाडी भाडा बढेको छैन, पहिला जति गाडी भाडा तोकिएको थियो, त्यही नै कायम छ,’ महानिर्देशक पाण्डेले भन्नुभयो, ‘तोकिएको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गर्छौं, दसैंमा यात्रु ठगिने भएकाले त्यसलाई मध्यनजर गर्दै ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।’ उहाँले परिचय पत्र लगाएका कर्मचारीसँग मात्र टिकट काट्न यात्रुलाई आग्रह गरेका छन्। साथै, कसैले बढी भाडा लिए यात्रु सहायता कक्षमा रहेका प्रहरी र कर्मचारीलाई खबर गर्न उहाँले सुझाव दिनु भएको छ। घटस्थापनापछि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढी हुन्छ।