जाइकाले नेपाललाई सोह्र अर्ब ऋण दिने
2022-09-22 15:43:21cri
Share with:

काठमाडौँ र पोखराको विद्युत् वितरण तथा प्रसारण पूर्वाधार निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १४ अर्ब २० करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ। यसैगरी जाइकाले पूर्वी नेपालको चन्द्रनहर पुनस्र्थापना गर्न दुई अर्ब रुपियाँ अनुदानसमेत उपलब्ध गराउने भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

बुधबार अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। जाइकाको सहुलियतपूर्ण ऋणबाट नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताका पाँचवटा नयाँ सबस्टेसन र १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गर्नेछ। 

पूर्वाधार विस्तारअन्तर्गत काठमाडौँ उपत्यकाको थापाथली, महाराजगञ्ज, नारायणहिटी दरबार क्षेत्र तथा सिरुटार र पोखराको बिरौटामा १३२÷११ केभीका सबस्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ। आयोजनाको कार्यान्वयनबाट काठमाडौँ र पोखरालगायतका सहरमा चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका नेपाल विद्युत् प्राधिकरणले प्राप्त गर्ने उक्त सहुलियतपूर्ण ऋणको ब्याजदर ०.०१ प्रतिशत रहने र ३० वर्षको भुक्तानीसहित १० वर्षको ग्रेस अवधि रहेको छ।

यसैगरी जाइकाको सहयोग रकमले मर्मत भएपछि चन्द्रनहर ११ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउनेछ भने ३५ हजार परिवार लाभान्वित हुने आकलन छ। वि.सं. १९७४ मा बेलायती इन्जिनियरले बनाएको सो नहर सामयिक मर्मत नहुँदा जीर्ण बनेको छ। जाइकाका अनुसार सो साहायताबाट सो नहरको पुनस्र्थापना र क्षमता वृद्धिसमेत गरिनेछ।