सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव रहेको नेपालका प्रमको भनाइ
2022-09-22 15:42:35cri
Share with:

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ। बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री  देउवाले सो कुरा बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

प्रधानमन्त्री देउवाले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाहीकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताउनुभयो।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिन्छ। सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाहीकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सकिनेछ। यस कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकर्षित गर्न प्रेरित गर्नेछ भन्ने आशा लिएको छु।’’

प्रधानमन्त्रीले यस्ता समाजसेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकर्षित गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको बृहत्तर हित, कल्याण एवम् उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘आजको दिन हामी सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको बृहत्तर हित, कल्याण एवम् उत्थानका लागि निःस्वार्थ भावले अझ समर्पित रही काम गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने दिन हो। नेपालको संविधानले सामुदायिक तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी गैर संस्थाको लगानी र भूमिकालाई जवाफदेही र पारदर्शी बनाउँदै यस्ता संस्थाहरुको स्थापना स्वीकृति, सञ्चालन, नियमन, व्यवस्थापनका लागि एकद्वार प्रणाली अपनाउने आवश्यकता र प्राथमिकताका क्षेत्रमा यस्ता सङ्घ, संस्थाहरुलाई संलग्न गर्ने कुरा उल्लेख गरेको छ।’’

उहाँले गैर सरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आवश्यक रहेको औंल्याउनुभयो। प्रधानमन्त्री देउवाले १५ औं योजनामा उल्लेखित सामाजिक विकाससम्बन्धी उद्देश्य र दिगो विकाससम्बन्धी लक्ष्यहरु हासिल गर्नका लागि सरकार र गैर सरकारी क्षेत्रले एक आपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।

प्रधानमन्त्री देउवाले गैर सरकारी संस्थाहरुले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुखी श्रमसीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यकता र अपरिहार्यता बढ्ने बताउनुभयो।