चाडपर्वले पर्यटकीय चहलपहल बढ्यो
2022-09-28 15:57:42CRI
Share with:

चाडपर्वसँगै आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ। कोभिड महामारीको समयमा आन्तरिक पर्यटकले धानेकोमा बाह्य पर्यटकको आवगमन पनि बढेको हो।

२०२० र २०२१ मा विदेशी पर्यटक ठप्प जस्तै थियो। २०२२ मा भने सुधार आएको छ। गत अप्रिलमा ६१ हजार ५८९ पर्यटक भित्रिएका थिए। अघिल्लो महिना अगस्ट महिनामा ४१ हजार ३०४ जना पर्यटक मात्रै नेपालमा भित्रिएका थिए। त्यसअघि जुलाईमा ५८ हजार ८११ पर्यटक नेपाल भित्रिएको अध्यागन विभागको तथ्यांकले देखाएको छ।  

टानका महासचिव विनोद सापकोटाले कोभिडको कारण रोकिएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कन लागेको बताएका छन्। उनले शरद ऋतुमा राम्रै पर्यटक आएको बताउनुभयो। सापकोटाले अन्तर्राष्ट्रिय उडान पुरानै अवस्थामा नफर्किएको कारण सोचेअनुसार पर्यटक भने आउन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो‘नेपालमा खुम्बु क्षेत्रमा सबैभन्दा धेरै पर्यटक गएका छन्। अन्नपूर्ण सर्किटमा बढी जान्थे। बाटोको समस्याका कारण अहिले मनास्लु ट्रेकिङमा जाने बढेका छन्।’

पर्यटन व्यवसायीका अनुसार दसैँ तिहारको समयमा आन्तरिक पर्यटक पनि बढ्ने विश्वास गरेका छन्। केही वर्षअघि दसैँ तिहारको समयमा विदेश घुम्न जाने लहर चलेकोमा अहिले स्वदेश नै घुम्ने गरेको व्यवसायी बताउँछन्।

पोखरा, चितवन, धुलिखेल, नगरकोट सप्तान्तमै भरिने भए पनि दसैँ तिहारको समयमा नियमित भरिने बताउँछन्।व्यवसायीका अनुसार दसैँतिहारको समयमा आन्तरिक पर्यटक मुस्ताङ, जोमसोम, इलाम, खप्तड घुम्नजाने आन्तरिक पर्यटक बढी हुन्छन्।

होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले कोभिडको समयमा आन्तरिक पर्यटकले धानेकोमा विदेशी पर्यटक आउन थालेको बताउनुभएको नेपालखबर अनलाइनले लेखेको छ। ट्रेकिङ र हिमाल आरोहणका लागि अक्टुबरलाई राम्रै बुकिङ भएको छ।