नेपालमा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने
2022-09-29 16:11:56CRI
Share with:

मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुने छन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा पनि मञ्चन हुने गोरखापत्र अनलाइनमा खबर छ। 

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौं बाहिरका कलाकार रहनेछन् । पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव सुरु गरेको बताउनुभयो ।

उहाँले अबको जिम्मेवारी आफूहरूको नै रहेकोले नाटकको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताउनुभयो । आफू सामाजिक रूपमा तयार रहेको पनि आर्थिक रूपमा कठिनाइ रहेको उहाँको भनाइ छ । त्यस्तै, निर्देशक एवम् वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताउनुभयो । महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरूको साझा महोत्सवको रूपमा लिनुपर्ने उहाँको धारणा छ ।

यस वर्ष सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च, विविधताको उत्सव भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ ।