विश्व बैंकका अर्थशास्त्रीको भनाइ, नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब
2022-10-01 16:29:38CRI
Share with:

नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको विश्व बैंकका एक अर्थशास्त्रीले बताएका छन्।  विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालसँग ९.२ अर्ब डलर (करिब १० खर्ब) को निर्यात गर्न सक्ने क्षमता रहेको बताउनुभएको हो। गत आर्थिक वर्षको निर्यात (करिब २ खर्ब रूपैयाँ) सँग तुलना गर्दा भरेलाले देखाएको सम्भावना आठ गुणा बढी हो। नेपालको व्यापार घाटा निरन्तर बढिरहेको र यसैले अर्थतन्त्रका विभिन्न पाटोमा समस्या ल्याएका बेला भरेलाको यस्तो भनाइले सरकार र निजी क्षेत्रलाई झस्काइदिएको छ।  

विश्व बैंकले केही समयअघि नेपालसहित ५० वटा मुलुक समावेश गरी तिनीहरूको निर्यात सम्भावनाबारे अध्ययन प्रतिवेदन तयार पारेको थियो। सोही अध्ययनले नेपालको निर्यात सम्भावना बढी रहेको देखाएको हो। अध्ययनले ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको अर्थशास्त्री भरेलाले बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघले नेपालको निर्यात सम्भावनाबारे काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँगै एकै दिन विश्व व्यापार संगठनको सदस्य भएका अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओसजस्ता देशले निर्यात बढाउन सकेको तर नेपालले सम्भावना हुँदाहुँदै पनि नसकेको बताउनुभयो। भरेलाका अनुसार एउटै खालको भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म कुल निर्यातको लगभग आधा हिस्सा कृषि उत्पादन थियो। बाँकी आधा हिस्सामा धेरै कपडा, थोरै खनिज र अन्य उत्पादनको योगदान थियो। तर सन् २०१९ (कोभिडपूर्व) मा लाओसले कृषि र कपडाको निर्यातलाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर, रसायनमा आधारित वस्तु र विद्युतीय ऊर्जा निर्यातमा थप्न सफल भयो। जसले लाओसको अर्थतन्त्रलाई निकै माथि लैजान सफलता मिल्यो।  

अर्थशास्त्री भरेलाका अनुसार यही परिप्रेक्ष्यमा नेपाललाई हेर्दा त्यसबेला नेपालको कपडा निर्यात पहिलो नम्बरमा थियो। कृषि र अन्य रसायनमा आधारित वस्तुुहरू पनि निर्यात हुन्थे। तर २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तु विविधीकरण हुन सकेन। ‘धेरै कृषि, थोरै कपडा तर ती दुई समूहले नै नेपालको निर्यातमा वर्चस्व राखेको पाइयो,’ अर्थशास्त्री भरेलाले भन्नुभयो, ‘यही कारण जति निर्यातको सम्भावना थियो, त्यो हुन सकेन।’ 

भरेलाका अनुसार अर्कोतिर नेपालको वृद्धि उत्पादकत्वका आधारमा देखिँदैन। नेपाली उद्योगी व्यवसायीले तीव्र निर्यातमार्फत फाइदा लिन सकेको पाइँदैन।

भरेलाले नेपालमा आएको न्यून बाह्य लगानी पनि निर्यात बढ्न नसक्नुको अर्को प्रमुख चुनौती रहेको बताउनुभयो। ‘न्यून बाह्य लगानी प्रवाहले वृद्धिका अवसरहरू र उत्पादकत्व फैलाउने सम्भावनालाई समेत थप सीमित बनाइदियो, उहाँले भन्नुभयो, ‘लाओस क्याम्बोडियाजस्ता मुलुकले धेरै विदेशी लगानी आकर्षित गर्न सके, जसले देशको उत्पादन र उत्पादकत्व दुवै बढायो। नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन।’

नेपालमा प्रजातन्त्र पुनस्र्थापनापछि बनेका सबै सरकारले बाह्य लगानीलाई प्राथमिकता दिएको दाबी गर्दै आएका छन्। सरकार चलाउनेले नै लगानी भित्र्याउन अनेकौं बाधा उत्पन्न गर्दै आएका पनि छन्।  अर्थशास्त्री भरेलाले नेपालले निर्यात बढाउने सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न अर्थात् निर्यात बढाउन विभिन्न उपाय पनि सुझाउनुभयो।  उद्योगी–व्यवसायीलाई उनीहरूको उत्पादन तथा सेवा गुणस्तरीय, भरपर्दो र अधिक राम्रो बनाउन, उत्पादित वस्तुलाई सफलतापूर्वक अन्तर्राष्ट्रिय बजारमा लैजान र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उहाँको सुझाव छ। नागरिकन्यूज.कम।