नारायणीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु
2022-10-01 16:25:08CRI
Share with:

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन्। भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रूपमा तीनवटै योजनाको काम अघि बढेको हो।    

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम गर्दैछ । सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।    

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्दैछ । नदीको सतहदेखि २.५ मिटर उचाइमा ११ खुट्किला निर्माण गर्दैछ । रु. १९ करोड ८६ लाख अनुमानित लागतमा बोलपत्र आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

खुट्किलाको सतह दुई मिटर चौडा हुन्छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा हुन्छन्। उहाँको भनाइमा माथिल्लो तह ४.५ मिटर फराकिलो हुनेछ । सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षारोपण गरिने छ । पाँच मिटरको फरकमा बिरुवा लगाइने उहाँले जानकारी दिनुभयो ।    

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार एक वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

भरतपुर महानगरपालिकाका इन्जिनियर अस्मिता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ । उहाँका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत २.४ किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने दुई वटा पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेको छ । रु. छ करोड ५० लाख बजेटमा काम भइरहेको छ ।

यस ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।    

तटबन्ध बाहेकका रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन् । सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरभित्र स्मार्ट सिटी गुरुयोजना अनुरूपको रु ५० करोडको बोलपत्र आह्वान गरेको छ ।

आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गर्दैछ । आरती क्षेत्र वरपर बत्ती राख्दैछ । उहाँका अनुसार झण्डै रु. दुई करोडको काम आयोजनाले नारायणी नदी किनारमा गर्दैछ ।