रामेछाप–लुक्ला उडान सुरु
2022-10-02 15:52:35CRI
Share with:

निजी क्षेत्रका तीन वटा हवाई कम्पनीले रामेछापबाट सोलुखुम्बुको लुक्ला विमानस्थलका लागि शनिबारदेखि उडान सुरु गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले ती कम्पनीलाई काठमाडौंबाट उडान कटौती गरी रामेछापबाट लुक्कातर्फको उडान गर्न निर्देशन दिएको थियो।

प्राधिकरणको निर्देशनअनुसार शनिबारदेखि वायुसेवा कम्पनीले रामेछाप–लुक्ला उडान थालेका हुन् । निजी क्षेत्रको तारा, सीता र समिट एयरले रामेछाप–लुक्लाका लागि उडान गर्न शुक्रबार नै केही जहाज रामेछाप विमानस्थलमा रात्रिकालीन पार्किङ गरेका थिए। लुक्लाका लागि उडान हुने सिजन भर अब रामेछाप भएरै उडान गर्ने तालिका ती कम्पनीको छ। त्यसका लागि जहाज र उडानसँग सम्बन्धित सबै कर्मचारीहरूलाई रामेछापमा नै राख्ने व्यवस्था वायुसेवा कम्पनीले मिलाएका छन्। 

रामेछाप विमानस्थल, नागरिक उड्डयन कार्यालयका एटिसी केदार सत्यालका अनुसार शनिबार तारा र समिटका २/२ र सीताको १ गरी ५ वटा जहाजले लुक्लाका लागि यात्रु ओसारेका थिए। काठमाडौंबाट सडक मार्ग हुँदै रामेछाप पुग्ने यात्रुलाई जहाजमा लुक्ला तर्फ लैजाने र त्यस तर्फबाट रामेछाप ओर्लिने यात्रुलाई सडक मार्गबाट काठमाडौं पठाउने गरी प्रबन्ध मिलाइएको कान्तिपुर अनलाइनमा खबर छ। 

काठमाडौंबाट बीपी राजमार्ग हुँदै १ सय ३० किलोमिटर दूरीमा रामेछाप विमानस्थल छ। उक्त सडक यात्रा गर्न करिब ४ घण्टा समय लाग्छ। सडक मार्गबाट पुग्ने पर्यटकहरूलाई सोही दिन नै सकभर लुक्लातर्फ पठाउने गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उडान र अवतरणका लागि होल्डमा बस्नुपर्ने भएकाले विकल्पको रुपमा रामेछाप विमानस्थललाई प्रयोगमा ल्याइएको हो। काठमाडौंभन्दा रामेछापबाट जहाज उडान गर्दा पर्यटकलाई भनेको समयमा गन्तव्यमा पुर्‍याउन सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रामेछापमा उडान र अवतरणका लागि जहाज होल्डमा बस्नु पर्दैन।