महाअष्ठमीका अवसरमा चीनमा मनाइयो नेवारी कुछी भ्यः
2022-10-04 16:39:03cri
Share with:

 

हिन्दू नेपालीहरुले मनाउने विजया दशमीको आठौँ दिन महाअष्टमीमा नेवार जातिले मनाउने कुछी भ्यः चाड चीनमा पनि भव्य रुपले मनाइएको छ। महाअष्ठमीका अवसरमा सोमबार साँझ चीनमा उक्त चाड पहिलोचोटि चीनमा मनाइएको नेपाल भ्युज अनलाइनले लेखेको छ।

चीनमा बसेका नेपालीहरुले नेपाली संस्कृतिका कुरालाई चिनियाँ सामु पुर्‍याउने काम गर्दै आएका छन्। विभिन्न चाड पर्वमा चिनियाँसँगै मिलेर रमाउँदा चीनमा थोरबहुत नेपाली पर्यटनको प्रवर्द्धन पनि भइरहेको छ। यही मेसोमा सोमबार साँझ काठमाडौँमा नेवारहरुले जस्तै १९ प्रकारका परिकार बनाएर चीनमा बसोबास गर्ने नेपालीले चिनियाँलाई चखाएका छन्।

चीनको दक्षिणपूर्वमा पर्ने चच्याङ प्रान्तको यिऊमा बसोबास गर्ने नेपालीहरुले सोमबार साँझ भेला भएर कुछी भ्यः मनाएका हुन्। उनीहरुले बजी, मायवः, ग्वःखेँ कुचा, कुँन्या, केरा, आमसी, फःसी, भुती, पँला, केउ, वाउँचा, खय्पी, चय्पी, नलू, क्वेँ, हिघासा, छोयला, थ्वँ र जुजु धौ बनाएर चिनियाँसँग खाएका छन्। नेवारी संस्कृतिमा महाअष्टमीको साँझ सुकुलमा पलैँटी मारेर बसेपछि यी परिकार खाने चलन छ। 

यिऊमा नेपाल चीन च्याम्बर्स अफ कमर्सको शाखा रहेको छ। त्यसैगरी गैरआवासीय नेपाली संघको शाखा पनि सक्रिय छ। यी दुई संस्थाको संयोजनमा दशैँ, तिहार, तथा नेपाली नयाँ वर्षका अवसरमा विविध कार्यक्रम आयोजना हुने गरेका छन्। गत वर्ष दशैँ वनभोजको आयोजना भएको विष्णुप्रसाद दुमरुले बताउनुभयो।

यो पटक चीनले शून्य कोभिड नीतिलाई कडाइका साथ लागू गरेकाले ठूलो जमघटमा दशैँ मनाउन कठिनाइ भएको थियो। महाअष्ठमीका दिन कसैले औपचारिक आयोजना नगरेको भए पनि रबीन्द्रकुमार मालीको घरमा सबैजना भेला भएका थिए। चीनमा बसेर व्यवसाय गरिरहेका माली गैर आवासीय नेपाली संघ चीन शाखाका सहकोषाध्यक्ष हुन्। मालीको घरमा भेला भएकामा लगभग ४० जनामा आधा चिनियाँ थिए भने आधा नेपाली थिए। नेपालीसँग बिहे गरेका चिनियाँ र उनीहरुका आफन्त सहभागी रहेक दुमरुले बताए।

नेवारी प्रचलनमा कुछी भ्यः मनाउँदा सबैभन्दा वरिष्ठ व्यक्ति पूर्वतिरको अग्रिम आशनमा बस्नुपर्छ। त्यसपछि उमेर अनुसार घट्तो क्रममा अरुहरु बस्ने चलन छ। सबैभन्दा अन्तिममा चाहिँ अगाडि बस्ने मूलीकी श्रीमती बस्ने चलन छ। श्रीमतीले भोजमा भेला भएका सबैको सुरक्षा गर्नका लागि यसरी अन्तिममा बस्ने चलन रहेको हो।

सोमबार भेला भएकाहरुमध्ये सबैभन्दा माथि रबीन्द्रकुमार मालीका मामा बसेका थिए भने अन्तिममा चाहिँ माइजू बसेकी थिइन्। मालीका मामा माइजू दुवै चिनियाँ हुन्। मामाको नाम वु स्याओ हु हो भने माइजूको नाम छन सी छाङ हो। नेवारी चलन अनुसार अगाडि बस्ने व्यक्तिलाई 'नायो' भनिन्छ भने सुरक्षाका लागि पछाडि बस्ने व्यक्तिलाई चाहिँ 'नकीँ' भनिन्छ। सोमबार साँझको उक्त जमघटमा वु स्याओ हु नायो बनेका थिए भने छन सी छाङ नकीँ बनेकी थिइन्।  

त्यसैगरी यिऊमा रहेका नेपालीहरुले नवमीका दिन मंगलबार गाडी पूजा गरेका छन्। नेपालीहरुले आफ्ना सवारी साधनलाई एकै ठाउँमा भेला गराएर गाडी पूजा गरेका हुन्। गाडी पूजा गर्दा नरिवल, स्याउ, केरा, हाँसको अण्डा, विस्कुट, धूप, अक्षता, फूल, टीका लगायतका सामग्री प्रयोग गरिएको छ। चीनमा नेपालीहरुले सामूहिक रुपमा आफ्ना सवारी साधनको पूजा गरेको पनि पहिलोपटक हो।