आइतबारदेखि नेपालको मौसममा क्रमशः सुधार हुने
2022-10-06 16:09:54cri
Share with:

आउँदो शनिबारसम्म नेपालभर वर्षा हुने पूर्वानुमान छ। आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनु भएको बाह्रखरी अनलाइनले लेखेको छ।

हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ।

अहिले मनसुन सकिने बेलामा मनसुन सक्रिय भएको महाशाखाका मौसमविद् पौडेलले बताउनुभयो। “विशेषगरी वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी छ,” उहाँले भन्नुभयो, “यो आइतबारबाट करिब–करिब सुधार हुँदै जान्छ। आइतबारदेखि कतिपय ठाउँमा घाम लाग्छ, कतिपय ठाउँमा बादल, पानी पनि हुन्छ। सबैतिर खुल्दैन। क्रमिक रूपमा आइतबारभन्दा, सोमबार, सोमबारभन्दा मंगलबार, यसरी कम हुँदै जान्छ।”

उहाँका अनुसार आइतबारदेखि कतिपय ठाउँमा लगातारको झरी रोकिने, कतिपय ठाउँमा घाम लाग्ने पूर्वानुमान छ। “योबीचमा शनिबारसम्म चाहिँ एक छिन वर्षा रोकिए पनि फेरि बादल लाग्ने, फेरि पानी पर्ने त्यस्तो खालको देखिएको छ,” उहाँले भन्नुभयो।

शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने उहाँले बताउनुभयो। लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र अति भारी वर्षा पनि हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो।

आज वाग्मती प्रदेशमा पनि मौसम सक्रिय रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार बिहीबार काठमाडौंमा पनि झरी पर्नेछ। “काठमाडौंमा पनि पानी पर्छ, झरी लाग्छ केही समय,” उहाँले भन्नुभयो, “दिउँसो, बेलुकापखबाट केही–केही सुधार हुन्छ। सुधार भन्नाले पूरै खुल्दैन। केही वर्षा रोकिन्छ।

पछिल्लो २४ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा मापन गरिएको मौसमविद् पौडेलले जानकारी दिए। यो अवधिमा दाङ, बाँके, बर्दिया, कास्की, पाल्पा, गुल्मी, रसुवा, काठमाडौंलगायत क्षेत्रमा बढी वर्षा मापन गरिएको उनले बताए। अहिले पनि कतिपय क्षेत्रमा भारी वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो।