अविरल वर्षाले जुम्लामा धानबाली क्षति
2022-10-07 16:27:14cri
Share with:

बुधबार बिहानदेखिको अविरल वर्षाले जुम्लामा धानबालीमा क्षति पुग्‍याएको छ। खेतमा धान ढलेका छन्। पाक्नै लागेको धान वर्षाले ढालेपछि किसान चिन्तित छन्। गुठीचौर ५ का मीनबहादुर महतले भित्र्याउने बेलाको धानबाली ढलेपछि समस्या भएको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

उहाँले भन्नुभयो,‘धान ढल्यो। सिम भएको खेततिरको धान त बालासहित कुहिने त्रास हुन्छ। पाकेको धान ढलेकोले खेतमै दाना झर्ने गर्छ।’ उहाँका अनुसार वर्षा यो बेला चाहिएकै थिएन। महतको देपालगाउँस्थित खेतका धान सबै ढलेका छन्। हिजोअस्ती हेर्दै लोभलाग्दो धान ढलेपछि महतको परिवार खुसी छैन।

वर्षाले जिल्लाको प्राय: सबै क्षेत्रका धान ढलेको किसान बताउँछन्। सिंजा, पानसय, चौधविस र असी दराका खेतहरुमा धान ढलेका हुन्। साथै हिउँदमा पशुपालनका लागि काटिएको घाँस समेत मेलामै कुहिएको छ। मौसम विद्हरुले निरन्तर वर्षा हुने बताएपछि छिटो घाँस काटेर भित्र्याउने तयारी थालेका किसान मेलामै घाँस कुहिने अवस्था आएपछि दुःखित छन्।

सिंजा ५ की बेसम बुढाले घाँस मेलामै भिजेको बताउनुभयो। उहाँले भन्नुभयो,‘अबको एक/दुई दिन पानी नरोकिए घाँस कुहिन्छ। हिउँदमा पशुपालनमा ठूलो समस्या आउने खतरा छ।’ वर्षायाममा जताततै हरियाली हुने भएकोले चरीचरण क्षेत्र धेरै हुन्छ। तर हिउँदमा सुख्खा हुने भएकोले किसानले घाँस संकलन गरेर राखेका हुन्छन्। घाँसले मंसिरदेखि फागुन महिनासम्म पशुबस्तुको आहाराको काम गर्छ।

यो सिजन जुम्लावासीले हिउँदेबाली भित्र्याउने समय हो। दसैंअघिदेखि घाँस काटिरहेका थिए। कोदो, चिनो र मकै भित्र्याउने र आलु निकाल्ने समय भएकोले पनि निकै व्यस्त देखिन्थे। वर्षाले घरभित्र्याउनै आँटेको बाली भिजायो। काटेको घाँस मेलामै कुहिने संभावना बढ्यो।

मौसमविदहरुले अझै दुई दिन निरन्तर वर्षा हुने जानकारी दिएकोले जुम्ली किसानलाई बाली कसरी सुरक्षितरुपमा भित्र्याउने चिन्ताले पिरोल्न थालेको छ। जुम्ली मार्सी धान पाक्न लागेको छ। केही दिनमै धान भित्र्याउने समय आइपुग्छ। मीनबहादुरले भन्नुभयो,‘पछिल्लो समयमा वर्षा र हिमपात आउने तालिका बदलिएपछि बालीनालीमा समस्या देखिएको छ। कहिले बेस्सरी पानी पर्ने त कहिले सुख्खा खडेरी हुने भएकोले स्थानीय उत्पादन भनेबमोजिम हुँदैन।’

पुरै जिउलोमा धान ढलेपछि किसान चिन्तामा परेका हुन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा २ हजार ९ सय ५० हेक्टरमा धानखेती गरिएको छ। जिल्लाको एक नगरपालिकासहित ७ वटै पालिकामा धानखेती हुन्छ।