नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण
2022-10-08 15:39:17cri
Share with:

 

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ। विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको अनलाइन खबरले लेखेको छ।

विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। यो एसियाली विकास बैंकले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा केही बढी हो। एडीबीले भने ४.७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको छ। बजेटमार्फत यस आवमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।

विश्व बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्लेषण गरेको छ। यसले नेपालमा सार्वजनिक ऋणको स्तर स्थीर रहने अपेक्षा गरिएको विश्व बैंकको भनाइ छ।

विदेशी मुद्राको सञ्चितीमा परेको दवाब समेत क्रमशः कम हुँदै जाने अनुमान छ। आगामी आर्थिक वर्षका लागि भने अर्थतन्त्र विस्तारको अनुमान ४.९ प्रतिशत मात्र गरिएको विश्व बैंकले जनाएको छ। यस वर्ष दक्षिण एसियाली क्षेत्रको विस्तार औसतःमा ५.८ प्रतिशत रहने छ। यस भेगमा भारतले सेवा क्षेत्र र निर्यात व्यापारका कारण सकारात्मक वृद्धि गरिरहेको पाइएको छ। रुस-युक्रेन युद्ध र यसले मूल्यमा परेको चापको प्रभाव भने कुनै न कुनै रुपमा सबैजसो मुलुकले भोग्नु परेको विश्व बैंकले जनाएको छ।

दक्षिण एसियामा सबैभन्दा संकटमा भने श्रीलंकाको अर्थतन्त्र रहेको छ। यो वर्ष सो मुलुकको अर्थतन्त्र ९.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ। यो सन् २०२३ मा ४.२ प्रतिशतले गिरावट आउने छ।

नेपाल डेभलपमेन्ट अपडेटमा विश्व बैंकले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावबारे समेत विश्लेषण गरेको छ। नेपाल विश्वव्यापी रुपमा हरितगृह ग्यासहरुको नगन्य योगदानकर्ता भए पनि जलवायु परिवर्तनको जोखिम भएका मुलुकमा भने अग्रस्थानमा पर्छ।

विश्व बैंकको विश्लेषण अनुसार आगामी दिनमा यसका प्रभावहरु अझ तीव्र गतिमा देखिने छन्।