नेपाल सरकारद्वारा वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेहरूको विवरण सङ्कलन सुरु
2022-10-08 15:42:47cri
Share with:

नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको विवरण राख्न थालेको हो। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको विवरण राख्न थालेको रातोपाटी अनलाइनले लेखेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विमानस्थलमै स्वदेश फर्किनेहरूको विवरण सङ्कलन गर्न विभागलाई भनेको थियो। सोही आधारमा विभागले साउनदेखि विवरण अद्यावधिक गर्न थालेको छ। 

विवरण अद्यावधिक गर्न थालेपछि साउनमा ३५ हजार ६०५ जना स्वदेश फर्किएका छन्। जसमा ३२ हजार ८०७ पुरुष र २ हजार ७९८ महिला रहेका छन्। त्यसरी फर्किनेहरूमा सबैभन्दा बढी कतारबाट रहेका छन्। कतारबाट मात्रै ११ हजार ४८ जना स्वदेश फर्किएको विभागको तथ्याङ्कले देखाएको छ। 

त्यस्तै युएईबाट ८ हजार ४५५, साउदी अरेबियाबाट ८ हजार ४०, मलेसियाबाट ३ हजार ९७२, कुवेतबाट ३ हजार ९७२ जना रहेका छन्। त्यस्तै भदौ महिनामा ४७ हजार ८९७ जना स्वदेश फर्किएका छन्। त्यसरी फर्किनेमा कतारबाट १३ हजार २९२, साउदी अरेबियाबाट ११ हजार १८२, युएईबाट १० हजार ८५०, मलेसियाबाट ६ हजार ५२०, कुवेतबाट २ हजार १५ जना रहेका छन्। 

श्रम मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ जारी गरेको छ। २१ असार २०७९ को मन्त्रिपरिषद् बैठकले निर्देशिका पारित गरेपछि जारी भएको थियो। सोही निर्देशिका अनुसार सरकारले वैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरूको विवरण राख्न थालेको हो। 

विवरण राख्दा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको व्यक्तिगत विवरण, वैदेशिक रोजगारीको सिलसिलामा काम गरेको मुलुक र कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव, वैदेशिक रोजगारीको आर्जनबाट देशभित्र रोजगारी वा स्वरोजगारी गर्ने सम्बन्धमा निजको इच्छा, आवश्यकता, प्राथमिकता, योजना लगायतको जानकारी राख्ने गरिएको छ। 

वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितको लागि उपयोग गर्न तथा त्यस्ता नागरिकको पुनः एकीकरण गर्नका लागि उक्त निर्देशिका जारी गरेको थियो। सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमा उद्यमशीलता गर्नका लागि आर्थिक सहयोग पनि गर्नेछ। त्यसमा सहुलियत ऋण सहयोग र अनुदान दुवै हुनेछ। वैदेशिक रोजगारबाट स्वदेश फर्किएको व्यक्ति भोलि पुनः विदेश नगएर स्वदेशमै केही गरोस् भन्ने चाहनाले सरकारले उक्त निर्देशिका जारी गरेको हो।