तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन
2022-10-10 16:14:44CRI
Share with:

तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ।

 

यो आयोजनाको मुख्य लगानीकर्ता ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सोलार मिनी ग्रिडबाट हिल्सामा एक सय किलोवाट विद्युत् उत्पादन सुरु भएको बताउनुभयो। उपभोक्ताले घरमा बिजुली बाल्न सुरु गरिसकेका गोरखापत्र अनलाइनले जनाएको छ

 

एक वर्षअघिदेखि यो आयोजनाको निर्माण तथा सौर्य प्यानल खरिद, ढुवानी र जडानका लागि निर्माण कम्पनीसँग सम्झौता भए पनि हिमपातका कारण सामान ढुवानी गर्न नसकिएकाले काम ढिलो भएको हो । उहाँले अब नेपाली भूभाग हिल्सामा पनि पूर्ण रूपमा विद्युतीकरण भएको बताउँदै हिल्साका एक सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । हिल्सावासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा सुरक्षा चौकीलाई समेत अब विद्युत्को समस्या समाधान भएको छ ।

 

उक्त मिनी ग्रिडका लागि नेपाल सरकार, नाम्खा गाउँपालिका, फिनल्यान्ड सरकार र युरोपियन युनियनको गरी साढे चार करोड रुपियाँ खर्च भएको छ । हिल्साका होटल व्यवसायी कर्मा लामाले सौर्य विद्युत् उत्पादन भएपछि यसअघि व्यक्तिगत खर्चमा राखिएका सौर्य प्यानल, मैनबत्ती वा टुक्की बाल्नुपर्ने हिल्सावासीको बाध्यता अब हटेको बताउनुभयो । मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएपछि त्यसको जिम्मेवारी हिल्सा सोलार मिनी ग्रिड सहकारी संस्थालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ।