गैरआवासीय नेपालीले नागरिकता र लगानी गर्न पाउनुपर्नेः पूर्व प्रधानमन्त्री ओली
2022-10-13 15:29:53CRI
Share with:

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीले राखेका नागरिकता र नेपालमा लगानी गर्ने माग तत्काल पूरा हुने बताउनुभएको छ। गैरआवासीय नेपाली संघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बुधबार पूर्वप्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राखेका माग सबै जायज भएको भन्दै केही माग तत्काल पूरा हुने बताउनुभयो।

गैरआवासीय नेपाली नागरिकताको माग नाजायज छैन । नागरिकताका विषयमा म प्रधानमन्त्री हुँदा समेत पटकपटक दफावार छलफल भएका थिए,” उहाँले भन्नुभयो। एनआरएनएले राखेका ३ वटा माग मध्ये २ वटा तत्काल पूरा हुने आश्वासन उहाँले दिनुभयो। उहाँले नागरिकता र लगानीका विषयमा देखिएको विवाद तत्काल हल हुने खालका रहेको तर्क गर्नुभयो। विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने अधिकार स्थापित हुनुपर्ने भए पनि तत्काल सुरक्षा तथा प्रशासनिक स्थिति कमजोर रहेको बेला केही समय पर्खनुपर्ने उहाँले बताउनुभयो। गैरआवासीय नागरिकताको टुंगो लगाएर मात्र मताधिकारको विषय आउने प्रष्ट पार्दै उहाँले विदेशमा आर्जन गरेको पुँजी, सीप, ज्ञान र प्रविधि लगानी गर्ने सम्बन्धमा सहजिकरण हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो।

सो अवसरमा गैरआवासीय नेपालीको आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने जनाउँदै संघले लामो समयदेखि उठाउँदै आएको नागरिकता सम्बन्धी सवाललाई पनि निकट भविष्यमा ऐनमा संशोधन गरेर समाधान गरिने जानकारी दिइएको थियो।

सो अवसरमा एनआरएनएका अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीले आर्जन गरेको पुँजी, सीप, ज्ञान र प्रविधिलाई नेपालको समृद्धिमा लगाउन नै विदेशमा रहेका नेपालीले रगत पसिना बगाइरहेको बताउनुभयो। कारोबार अनलाइन।