सीसीपीको २०औँ महाधिवेशन:शान्तिपूर्ण पुनर्मिलनको पथमा लम्किँदै चीन
2022-10-14 15:45:46cri
Share with:

--------------अजय अलौकिक

यतिखेर विश्वको ध्यान चीनतर्फ मोडिएको छ। हुन त पछिल्ला वर्षमा विश्वमाझ चीन केन्द्रबिन्दु बनेको छ। विश्व अर्थतन्त्रको दोस्रो शक्तिशाली देश चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका विविध आर्थिक मञ्चका माध्यमबाट विश्वमा चीनको भूमिका सशक्त बनाउँदै लगेको छ। उसले विश्वशान्ति, भ्रातृत्व तथा मेलमिलाप र विश्वको समग्र विकासमा योगदान पुर्‍याउँदै आफ्नो उपस्थितिलाई अर्थपूर्ण पनि बनाएको छ।

यसबाहेक सर्वशक्तिमान अमेरिकासँगको व्यापार घर्षणदेखि दुई देशबीच सुरु भएको प्रतिस्पर्धाले पनि चीनमाथि विश्वको नजर परिरहेको छ। साथै पूर्वाधार विकासमा चमत्कार, स्थिर आर्थिक विकास, विज्ञान प्रविधिमा नयाँ आयाम, अन्तरिक्ष अन्वेषण तथा चिनियाँ सेनाको आधुनिककीकरण, जनतालाई प्राथमिकता र जनताप्रतिको उत्तरदायित्वको नारा र त्यसको अनुशरण, कोभिड-१९ महामारी तथा जिरो पोलिसीजस्ता विषयमा चीनले गर्दै आएको र गरिरहेको काम, योजना र लक्ष्यप्रति आमचासो देखिन्छ।

सामान्य रूपमा हेर्दा देशभित्रको आन्तरिक मामिलाजस्ता देखिने यी विषयमा चालिने कदमले विश्व परिदृश्यमा प्रभाव ल्याउने हैसियत राख्छन्।

साथै सही नीति निर्माण र कार्यान्वयनले कुनै पनि देशको काँचुली फेर्न सकिने दृष्टान्त पनि चीनले प्रस्तुत गरेको छ। चीनमा सयौँ वर्षदेखि रहिरहेको गरिबीको उन्मूलन गरेर विश्वलाई चमत्कार सम्भव भएको प्रमाण पनि जुटाएकै हो।

यस्तो अवस्थामा चीन र चिनियाँ जनताको प्रसंगमा विश्वले ध्यान दिनु स्वाभाविकै देखिन्छ। यही अक्टुबर १६ (असोज ३०) देखि राजधानी बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन हुँदै छ। चिनियाँ कम्युनिस्ट पार्टी अर्थात् कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले बितेको शताब्दीमा मानव विकासको इतिहासमा एउटा सानदार अध्याय लेखेको छ।

सन् १९२१ जुलाईमा स्थापित चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९२१ देखि सन् १९४९ सम्म चिनियाँ जनताको नेतृत्व गरी साम्राज्यवाद, सामन्तवाद, उपनिवेशवाद र नोकरशाही पुँजीवादी शासन ढालेर जनगणतन्त्र चीनको स्थापना गरेको थियो।

नयाँ चीन स्थापनासँगै सम्पूर्ण चिनियाँ जनताको नेतृत्व गरी सीपीसीले विपन्‍न देशलाई विश्वको दोस्रो आर्थिक समुदाय बनाएको छ। यस्तो इतिहास र गौरव बोकेको पार्टीको महाधिवेशनमा विश्वको ध्यान आकृष्ट हुनु अस्वाभाविक होइन।

चिनियाँ कम्युनिस्ट पार्टीको विधानअनुसार पार्टीको महाधिवेशन तथा यसबाट निर्वाचित केन्द्रीय समिति चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेतृत्वदायी संस्था हो। चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन सम्पन्न भएपछि केन्द्रीय समितिले महाधिवेशनको निर्णय प्रस्तावको कार्यान्वयन गर्छ भने चिनियाँ कम्युनिस्ट पार्टीको सम्पूर्ण कार्यको नेतृत्व गर्छ। चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएदेखि १९औँ केन्द्रीय समिति बनेको छ।

यसपटक नयाँ (२०औँ) सीपीसी केन्द्रीय समिति, पार्टीको शीर्ष नेतृत्व र अनुशासन निरीक्षणका लागि नयाँ सीपीसी केन्द्रीय आयोग चयन हुने विषयले झनै ठूलो आकर्षण बोकेको छ।

यद्यपि २०औँ महाधिवेशनले पनि वर्तमान पार्टी महासचिव सी चिनफिङलाई तेस्रो कार्यकालका लागि चुन्नेछ। तापनि शीर्ष तहमा थुप्रै परिवर्तन हुने सम्भावना छ।

यसअघि सीपीसीको १८औँ केन्द्रीय समितिको पहिलो पूर्ण बैठकबाट सी चिनफिङ, ली खछ्याङ, चाङ तच्याङ, यू चङसङ, लीउ युनसान, वाङ छिसान, चाङ काउली केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्यका रूपमा निर्वाचित भएका थिए भने सीपीसीको १९औँ केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा सी चिनफिङ, ली खछ्याङ, ली चानसु, वाङ याङ, वाङ हुनिङ, चाउ लची, हान चङ केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्यका रूपमा निर्वाचित भएका थिए।

यो २०औँ महाधिवेशनले आगामी पाँच वर्ष र सम्भवतः त्यसपछिका वर्षका लागि पनि पार्टीको रोडम्याप प्रस्तुत गर्ने, चीनको विकासका लक्ष्य र कार्यदिशा तय गर्ने कार्यभार निर्वाह गर्नेछ। राष्ट्रिय नीतिगत लक्ष्य निर्धारण गर्नुका साथै पार्टीको विधान संशोधनको अपेक्षा पनि गरिएको छ। महाधिवेशनले १९औँ महाधिवेशनको अर्थात् गत पाँच वर्षको समीक्षा पनि गर्नेछ। महाधिवेशनमा नौ करोड ६० लाखभन्दा बढी सदस्यको प्रतिनिधित्व गर्दै २,२९६ निर्वाचित प्रतिनिधि सहभागी हुनेछन्।

सीपीसीले आफ्नो २०औँ महाधिवेशनलाई जनकेन्द्रित शासन दर्शन र चिनियाँ विशेषतासहितको समाजवादलाई दृढतापूर्वक पालना गर्नुपर्ने आवश्यकतालाई दोहोर्याउनेछ। साथै चीनको विकास, सुधार र खुलापनको नयाँ परिस्थितिका साथै बढ्दो बाह्य जोखिम र चुनौतीलाई ध्यानमा राख्दै विकास र सुरक्षाको समन्वयको आवश्यकतालाई उजागर गर्ने सम्भावना छ।

जुलाईमा आयोजित एक कार्यशालामा सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङले २०औँ सीपीसी महाधिवेशनले पार्टीले गर्ने रणनीतिक कार्य र आगामी पाँच वर्षमा पार्टीले चाल्ने प्रमुख कदममा जोड दिने बताएका थिए।

राष्ट्रव्यापी रूपमा असन्तुलित र अपर्याप्त विकासको समस्या समाधानका लागि नयाँ योजना र उपाय अपनाउनुपर्ने उनको भनाइ थियो। उनले भनेका थिए, पार्टी र देशको उद्देश्य, चिनियाँ विशेषतासहितको समाजवादको भविष्य र चिनियाँ राष्ट्रको महान् कायाकल्पलाई अझ अगाडि बढाउन विगतका सफलता  निर्माण गर्नु अति आवश्यक छ।

राष्ट्रपति सीको नेतृत्वमा विगत १० वर्षको अवधिमा चीन सुधार र विकासको नयाँ चरणमा प्रवेश गरेको छ। चीन गरिबी निवारण तथा भ्रष्टाचार न्यूनीकरण गर्दै चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराबाट समृद्ध समाज निर्माणमा अग्रसर छ।

सी चिनफिङ सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ महाधिवेशनमा महासचिवमा निर्वाचित भएका थिए। त्यसलगत्तै सन् २०१३ मा चीनको राष्ट्रपति भएका थिए। वर्तमान सीपीसी पार्टी महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले सो १८औँ महाधिवेशनमा दुईवटा शतवार्षिकोत्सवमा दुई शतवार्षिकी लक्ष्य पूरा गर्ने उद्घोष गरेका थिए।

सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकोत्सवमा चिनियाँ समाजलाई चौतर्फी रूपमा सम्पन्न बनाउने तथा सन् २०४९ मा नयाँ चीन स्थापनाको शतवार्षिकोत्सवमा चीनलाई सबल, प्रजातान्त्रिक, सभ्य, मेलमिलाप तथा सुन्दर आधुनिक समाजवादी शक्तिशाली मुलुक बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेका थिए।

यो चिनियाँ सपनाका रूपमा पनि प्रसिद्ध छ। उन्नत समाज, जीवनस्तरमा व्यापक सुधार, सैन्य आधुनिकीकरण, राष्ट्रिय पुनःजागरण, राष्ट्रिय पुनःमिलन तथा चिनियाँ विशेषतायुक्त समाजवाद नै चिनियाँ सपना हुन्।

यसरी सीपीसी महासचिव तथा राष्ट्रपति सीले सन् २०१७ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ महाधिवेशनमा यी सपना र लक्ष्यलाई साकार र आकार दिने हेतुले नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद विचारधारा प्रस्तुत गरेका थिए।

महाधिवेशनले पार्टी महासचिव सी चिनफिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई पार्टीको विधानमा समेटिएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशनले सीको उक्त प्रतिवेदन पारित गर्नुका साथै प्रतिवेदनलाई चिनियाँ कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनियाँको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने राजनीतिक घोषणापत्र तथा कार्यपत्र निर्देशिका र मार्क्सवाद तथा लेनिनवाद, माउ चतोङ विचारधारा, तङ स्याउफिङ सिद्धान्त, तीनवटा प्रतिनिधित्व भन्ने महत्त्वपूर्ण विचारधारा र वैज्ञानिक विकास धारणासँगै मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशिका दस्ताबेज भएको ठहर गरेको थियो।

१९‌औँ महाधिवशेनलाई सम्बोधन गर्दै महासचिव सीले नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा चीन राष्ट्रको पुन:उत्थानलाई सफल बनाउने निर्देशिका भएको दाबीसहित सार्वजनिक गरेका हुन्। जुन २१औँ शताब्दीको सी चिनफिङ विचारधाराका रूपमा प्रसिद्ध छ।

नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारासँगै नयाँ दृष्टिकोणबाट कम्युनिस्ट पार्टीको शासन गर्ने विधान, समाजवादको निर्माणको विधान, मानव समाजको विकासको विधानलाई गहन पारेको छ। यस विचारधारामा सन् २०२०सम्ममा चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गर्ने आधारमा यस शताब्दीको मध्यकालमा चीनलाई सबल, प्रजातान्त्रिक, सभ्य, मेलमिलाप तथा सुन्दर आधुनिक समाजवादी शक्तिशाली मुलुक बनाउने उल्लेख गरिएको हो।

१९औँ महाधिवेशनले चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ युगमा चीन प्रवेश गरेको कुरालाई निश्चित गरेपछि देशको भावी विकास दिशाका लागि पहिलोपल्ट ‘आधुनिकीकरण आर्थिक प्रणालीको निर्माण’ गर्ने लक्ष्य स्पष्टसँग प्रस्तुत गरेको छ।

यही लक्ष्यअनुरूप देशभरि दसौँ लाख मानिसलाई परिचालन गर्दै सन् २०२० मा गरिबी निवारण गरेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ महाधिवेशनयता चीनले वर्तमान मापदण्डअनुसार ९ करोड ८९ लाख ९० हजार गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गरेको छ। दिगो विकासका लागि संयुक्त राष्ट्रसंघको सन् २०३० एजेन्डालाई चीनले दस वर्षअघि पूरा गरेको छ। योसँगै चीनले आफ्नो पहिलो शतवार्षिकी लक्ष्य पूरा गरेको थियो।

महासचिव सीले प्रस्तुत गरेको प्रतिवेदनमा चीनले निकट भविष्यमा सम्पन्न समाजको चौतर्फी रूपमा निर्माण गर्ने, जनताको अझ उच्च भौतिक तथा सांस्कृतिक स्तर बनाउने मागकासाथै प्रजातन्त्र, कानुनी शासन, समानता, न्याय, सुरक्षा र वातावरण आदि क्षेत्रमा अझ बढी ध्यान दिने कुरा समेटिएको छ। यसर्थ  २०औँ अधिवेशनले जोडतोडका साथ यही लक्ष्यलाई पूरा गर्न आधार निर्माण गर्नेछ।

नयाँ चीन स्थापनादेखि सत्तासीन पार्टी जसको कुनै पनि नीतिनियमले चीनमात्रै नभई विश्वलाई नै प्रभाव पार्ने हैसियत बोकेको छ। सो पार्टीको महाधिवेशनप्रति विश्वले अवश्य चाखपूर्वक हेर्ने नै छ। साथै सीसीपी सामन्तवाद, साम्राज्यवाद र उपनिवेशवादमाथि विजयको झण्डा फहराएको सय वर्षको अनुभवी पार्टी हो। सीसीपी सन् २०३५ सम्ममा मूल रूपमा आधुनिक समाजवाद हासिल गरिसक्ने लक्ष्यतर्फ अग्रसर छ। यसै अवधिभित्र शान्तिपूर्ण पुनःमिलनको सम्भावना पनि छ।

चीन राष्ट्रको कायाकल्प गर्न १९औँ केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले गरेको घोषणा नयाँ चीनको शतवार्षिकीमा अर्थात् सन् २०४९ सम्ममा चीनलाई आधुनिक, शक्तिशाली, समृद्ध, सांस्कृतिक रूपमा सम्पन्‍न, मेलमिलापयुक्त, सुन्दर र समाजवादी देश निर्माणमा चीन, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको हार्दिकतापूर्वक साथ रहनेछ।

(हिमालप्रेसमा बुधबार, असोज २६, २०७९ मा प्रकाशित)