यो वर्ष नेपालमा सबैभन्दा बढी रोपाइँ
2022-10-14 15:59:07CRI
Share with:

नेपालमा यस वर्ष धान रोपाइँ ऐतिहासिक रूपमा बढेको एक सरकारी तथ्यांकले देखाएको छ। यससँगै रोपाइँ पनि अहिलेसम्मकै उच्च देखिएको छ। कृषि विभागले सार्वजनिक गरेको रोपाइँको विवरणअनुसार ०७९ साउनसम्म १४ लाख २८ हजार ४ सय ९ हेक्टरमा रोपाइँ भएको छ। ०७८ को तुलनामा धान रोपेको क्षेत्रफल ८५ हजार ५ सय ८९ हेक्टरले बढी हो। विभागका अनुसार गत वर्ष (०७८ साउनसम्म) १३ लाख ४२ हजार ८ सय १९ हेक्टरमा रोपाइँ भएको थियो

रोपाइँ हुने क्षेत्रफल पनि बढेर १५ लाख ४ हजार ४ सय ८६ हेक्टर पुगेको छ। ०७८ साउनसम्म भने यस्तो क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ७ हेक्टरमा मात्रै थियो। एक वर्षमा रोपाइँ हुने क्षेत्रफल १ लाख ३२ हजार ७ सय ८० हेक्टरले बढेको विवरणमा छ। रोपाइँको विवरणमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय भने सन्तुष्ट छैन

त्यसैले मन्त्रालयले रोपाइँ हुने क्षेत्रफल र रोपाइँ बढेको आधार मागेको छ। उसले सातै प्रदेश सरकारसँग रोपाइँको क्षेत्रफल बढेको पुष्टि हुने आधार मागेको होएकै वर्षमा रोपाइँ हुने क्षेत्रफल १ लाख ३२ हजार हेक्टर बढ्नु सानो कुरा होइन। यो ऐतिहासिक हो, विवरण त्रुटिपूर्ण भएको पनि हुन सक्छ,’ मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भन्नुभयो, ‘थप पुष्टि गर्न प्रदेश सरकारसँग जवाफ मागेका छौं ७ प्रदेशमध्ये प्रदेश १ ले जवाफ पठाएको छ

 

मुलुकमा खेती प्रणाली मनसुनमा आधारित हुन्छ। यस वर्ष समयमै मनसुन सक्रिय भए पनि निरन्तरता पाएन, जसले गर्दा असार २८ सम्म ५४.१३ प्रतिशत मात्रै रोपाइँ भएको विभागले नै सार्वजनिक गरेको विवरणमा थियो। तर साउन ३० सम्म रोपाइँ करिब ९५ प्रतिशत बढेको विवरणमा उल्लेख छ। रोपाइँ हुने क्षेत्रफलसँगै रोपाइँ पनि अस्वाभाविक रूपमा बढेको देखिन्छ

गत वर्ष पनि पानी राम्रो परेको थियो। तर एकै वर्षमा १ लाख ३२ हजार क्षेत्रफल बढ्नु प्रश्नयोग्य रहेको रेग्मीको भनाइ छ। मुलुकमा २६ लाख ४१ हजार हेक्टर कृषियोग्य भूमिमध्ये १७ लाख ६६ हजार हेक्टर मात्रै सिँचाइयोग्य छ। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार ०७७/७८ सम्म १५ लाख ९ हजार ४ सय २७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। जानकारका अनुसार रोपाइँ हुने क्षेत्रफल ह्वात्तै बढ्न राष्ट्रिय कार्यक्रम चाहिन्छ। नयाँ जमिनमा धान खेती वा पाखो जमिनमा सिँचाइ खेतीको कार्यक्रम हुनुपर्थ्यो, त्यसो नभएको अवस्थामा सार्वजनिक गरिएको विवरणमा त्रुटि हुने सम्भावना रहने जानकारहरू बताउँछन्। विवरण त्रुटिपूर्ण देखिए सार्वजनिक गरिएको विवरण पुनः सच्याइने रेग्मीले बताउनुभयो।

 

कान्तिपुर अनलाइनका अनुसार मनसुन औसतभन्दा पछाडि धकेलिँदा बर्दिया र कैलाली क्षेत्रमा लगाइएको धान डुबानमा परेको छ। करिब एक साता आएको लगातारको वर्षाले बर्दियाको राजापुर र कैलालीको केही क्षेत्रमा असर पुगेको कृषि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार धेरै ठाउँमा किसानले धान काटेका छैनन्। पानीले डुबानमा परे पनि गत वर्षको जस्तो नोक्सानी नगर्ने बताइएको छ।

 

यसैबीच कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग हाल ५५ हजार टन मात्र मल मौज्दात रहेको कृषि मन्त्रालयले बताएको छ। युरिया, डीएपी र पोटास गरी ५५ हजार टन मल मौज्दात रहेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलको भनाइ छ। थप मल आयात हुने क्रममा रहेकाले आगामी सिजनमा मल अभाव नहुने उहाँको दाबी छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग युरिया मल ७ हजार ९८०, डीएपी ४२ हजार ९९३ र पोटास ४ हजार ३२२ टन मौज्दात रहेको सञ्जेलले जनाउनुभयो