पोखरामा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन
2022-10-14 15:56:02CRI
Share with:

लामो समयको प्रतीक्षापछि शुक्रबारबाट गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्दै छ। विसं २०७६ सालमा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो। त्यसो त विसं २०७७ मै गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरे पनि कहिले कोभिड त कहिले स्थानीय चुनावका कारण सर्दै आएको प्रतियोगिता शुक्रबारबाट औपचारिक रूपमा सुरु हुने नागरिकन्यूज डटकमले जनाएको छ।

 

प्रदेश संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना हुन लागेको यो दोस्रो पटक हो। तथापि, संघीय संरचनाअनुरूप जिल्लास्तरबाटै छनोट भएको चाहिँ पहिलो पटक हो। यद्यपि, विसं २०७५ सालमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रदेश संरचनामा गरिए पनि छनोट भने सम्बन्धित प्रदेशबाट भएको थिएन। यस पटकबाट भने खेलाडी छनोटको जिम्मासमेत सम्बन्धित प्रदेशलाई दिइएको थियो। आजबाट प्रतियोगिताको औपचारिक उद्घाटन हुने भए पनि प्रतियोगिताका खेलहरू भने आइतबारबाटै सुरु भइसकेका छन्। नेपाल ट्वान्टी२० लिगसँग मिति जुध्ने भन्दै पुरुष क्रिकेट भने भदौ ३१ मा काठमाडौंमा सम्पन्न भइसकेको छ।

 

प्रतियोगिताको उद्घाटन उपराष्ट्रपतिले गर्ने र एथलेटिक्सका पूर्वखेलाडी टीकाबहादुर बोगटीले ओलम्पिक टर्च बाल्ने तालिका छ। प्रतियोगितामा जहाँ सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको एक टोली गरी ११ टोलीका ६ हजार १ सय ५९ खेलाडीले कुल तीन सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्।