पूर्वी नेपालमा रूखका छ वटा र अन्य साना वनस्पतिका तीन वटा नयाँ प्रजातिहरु फेला
2022-10-14 16:00:33CRI
Share with:

झापाको चारकोसे झाडीको रुपमा परिचित जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गर्ने क्रममा यहाँभित्र विभिन्न प्रकारका नयाँ खोजहरु पत्ता लागेको जनाइएको छ । रूखका छ वटा र अन्य साना वनस्पतिका तीन वटा नयाँ प्रजातिहरु फेला परेको बताइएको हो ।

विगत तीन वर्षमा स्थानीय उपभोक्ता र विषय विज्ञहरूको सहभागितामा जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गरी यस वनको एउटा प्रोफाइल तयार पार्ने कार्य गर्ने क्रममा यो फेला परेको हो । जलथल वनको विस्तृत वन सर्वेक्षण गरी प्रोफाइलको लागि तथ्याङ्क तयार पारिएको छ, यस विषयमा अध्ययन गरिरहनुभएका फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता दिननाथ शर्माले बताउनुभयो ।

जलथल वनमा पुतली, च्याउ, माछा, सर्प, भ्यागुता, रूख, झारपात र उन्यूहरूको सर्वेक्षण गरी सूची तयार पारिएको पनि उहाँले जानकारी दिनुभएको छ । नेपालमा कुनै एउटा वन क्षेत्रको गहिरो अध्ययन र यो तहको प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको सायद पहिलो हुनसक्छ, उहाँले भन्नुभयो ।

नेपालको दक्षिण पूर्वी सिमावर्ती झापा जिल्लाको दक्षिणी भागमा लगभग छ हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको वन कुनै बेला घना र अविच्छिन्न चारकोसे वनको बचेखुचेको एउटा खण्डको रुपमा लिइन्छ । जलथलमा मात्रै ५३० प्रजातिका वनस्पति भेटिएको शर्माले बताउनुभएको छ ।

जलथल क्षेत्रका सिमसारहरुमा गरिएको सर्वेक्षणमा ४३ प्रजातिका माछा भेटिएको शर्माले जनाउनुभयो । विश्व संरक्षण सघ (आईयुसिएन)को रातो सूचीमा परेको हात्ती (सङ्कटापन्न) र लाम्चे कछुवा र सालक (अति सङ्कटापन्न) जस्ता वन्यजन्तु जलथलमा पाइएको छ। जलथल जङ्गलमा नेपालकै दुर्लभ वनस्पतिको प्रजाति बाँदरको लिस्नो जस्तो देखिने यसप्रकारको लहरायुक्त रुख र यसलाई नागलहरा पनि भानिन्छ।