नेपाल र चीनबीचको मैत्री सम्बन्ध विश्वमै नमूनाको रुपमा रहेको चीनका लागि नेपाली राजदूतको भनाइ
2022-10-16 09:00:05CRI
Share with:

चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको भन्दै प्रशंसा गर्नु भएको छ। चाइना मिडिया ग्रुप नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उहाँले चीनले अगाडि सारेको बीआरआई र विश्व विकास अवधारणाबाट नेपालले पनि अधिक लाभ प्राप्त गर्ने बताउनुभयो।

नेपालको नेकपा माओवादी केन्द्रका नेताका रुपमा रहनु भएका श्रेष्ठ लामो समयसम्म नेपालमा शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो। आफूले चिनियाँ पत्रपत्रिका र पुस्तक अध्ययन गर्ने गरेको बताउँदै उहाँले पाँच दशक अगाडिदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीप्रति आफ्नो लगाव रहेको स्पष्ट पार्नु भएको छ।

एक कूटनीतिक अधिकारीका रुपमा उहाँले अन्तर्राष्ट्रिय जगतमा चीनको अभियान र विकास साझेदारी कार्यले विकासोन्मुख मुलुकलाई हित गरेको भन्दै नेपालको विकासमा चीनले गरेको योगदानको पनि मुक्त कण्ठले प्रशंसा गर्नु भएको छ। चीनले चार दशक अगाडि सुरु गरेको सुधार र खुला नीतिले वर्तमानमा चीनले विकासको फड्को मारेको उहाँले बताउनुभयो। चीनले अहिले विश्वको नेतृत्व गरिरहेको भन्दै सबैको जित हुने नारा र सबैको साझा उज्जयल भविष्यको अभियानले सबैलाई हित पुगेको औँल्याउनुभयो।

सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको भ्रमण गर्नु भएको र यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लगेको उहाँले स्पष्ट पार्नुभयो। नेपाल र चीनबीचमा प्राचिन कालदेखि नै सांस्कृतिक सम्बन्ध रहेको भन्दै दुई देशबीचमा युगौँदेखि राम्रो समझदारी र विश्वास रहेको उहाँको मूल्याङ्कन रहेको छ। नेपाल र चीनबीचको मैत्री सम्बन्ध विश्वमै नमूना रहेको उहाँको ठम्याइँ छ।

चिनियाँ कम्युनिष्ट पार्टीको आसन्न बीसौँ महाधिवेशनले चीनलाई थप शक्तिशाली बनाउने र विश्वमा चीनको भूमिका अझै बढ्ने उहाँले बताउनुभयो।