चीनले थाल्यो आधुनिक समाजवादी युगको यात्रा, भ्रष्टाचार र ताइवानको मामिलामा पहिलेभन्दा कडा
2022-10-17 16:25:46cri
Share with:

विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा लामो समय सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को बीसौँ महाधिवेशन बेइजिङमा सुरु भएको छ। बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन क्षेत्रको पश्चिमपट्टि जनवृहत सभाभवन रहेको छ। यही जनवृहत सभाभवनमा आइतबार बिहान १० बजे (चिनियाँ समय अनुसार) सुरु भएको यो अधिवेशनले विश्वको ध्यान आकर्षित गरेको छ। महाधिवेशन आगामी शनिबार सम्म चल्नेछ। सीपीसीमा ९ करोड ६० लाख सदस्यहरु छन्। सीपीसीले ७३ वर्षदेखि निरन्तर सत्तारुढ दलका रुपमा चीनलाई नेतृत्व गरिरहेको छ।  

जनवृहत सभाभवन विश्वकै सबैभन्दा ठूलो सभाभवन हो। यसको डाइनिङ हलमा एकैचोटि ३० हजार व्यक्तिले खाना खान सक्छन्। यस भवनभित्र चीनका हरेक प्रान्तका छुट्टाछुट्टै ३४ वटा सभाभवन छन् भने ठूला तीनवटा सभाभवन रहेका छन्। मूलतः यो भवन चिनियाँ राष्ट्रिय जनकंग्रेस र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका वार्षिक नियमित अधिवेशन हुने स्थल हो। एक सदनात्मक चिनियाँ प्रणालीमा प्रकारान्तले जनवृहत सभाभवन चिनियाँ संसद जस्तै हो।

जनवृहत सभाभवनमा भेला भएका सीपीसीका २ हजार २ सय ९६ प्रतिनिधि र अन्य आमन्त्रित नेतागण गरी २ हजार ३ सय ५० जतिको उपस्थितिमा सीपीसीका महासचिव सी चिनफिङले उद्घाटन गर्दै डेढघण्टा लगाएर प्रतिवेदन पेश गर्नु भएको छ।

 

तीन प्रमुख घटना

प्रतिवेदन पेश गर्ने क्रममा सी चिनफिङले आफ्नो दस वर्षे कार्यकालमा मूलतः तीन प्रमुख घटना भएको औँल्याउनु भएको छ। उहाँले औँल्याउनु भएका तीन घटनामा सीपीसी स्थापनाको शतवार्षिक, चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश र समुल रुपमा गरीबी निवारण रहेका छन्।

सी चिनफिङ सन् २०१२ को नोभेम्बरमा सम्पन्न सीपीसीको १८ औँ महाधिवेशनबाट महासचिव बन्नु भएको हो। चीनमा सीपीसीको महासचिव नै राष्ट्राध्यक्ष बन्ने भएकाले सन् २०१३ को मार्चमा चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनले उहाँलाई चीनको राष्ट्राध्यक्ष चयन गरेको हो। सीपीसीको नेतृत्व गरेको दस वर्षमा मुख्य गरी तीनवटा घटनासँग जम्काभेट भएको उहाँले उल्लेख गर्नु भएको हो।

 

संघर्षको पहिलो शताब्दी र उपलब्धि

नेतृत्वमा आएपछि सी चिनफिङ केन्द्रित सीपीसीले दुई शताब्दीको लक्ष्य निर्धारण गरेको छ। जस अन्तर्गत सन् २०२१ मा सीपीसी स्थापनाको पहिलो शताब्दी लक्ष्यभित्र चीनलाई समूल रुपमा गरिबीमुक्त बनाउने र सन् २०४९ मा नयाँ चीन स्थापनाको दोस्रो शताब्दी लक्ष्यमा चीन विकसित मुलुक बनाउने लक्ष्य रहेका छन्। उल्लिखित दुई लक्ष्य मध्य पहिलो लक्ष्य चीनले हासिल  गरिसकेको छ।

सीले प्रतिवेदनमा भन्नु भएको छ 'पहिलो शताब्दी संघर्षको शताब्दी हो। यो ऐतिहासिक जीत चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको ऐतिहासिक जीत हो, चिनियाँ राष्ट्रको विकासको ऐतिहासिक जीत हो र यो विश्वका लागि पनि गहिरो प्रभावको ऐतिहासिक जीत हो।’

गरिबी निवारणमा चीनले मात्र विश्वमा ७० प्रतिशत योगदान दिएको छ। सोही कारण प्रतिवेदनमा चीनको यो उपलब्धिलाई विश्वका लागि पनि गहिरो प्रभावको ऐतिहासिक जीत भनिएको हो।

 आधुनिक समाजवादी युगतिर चीन

प्रतिवेदनमा सीपीसीको मुख्य उद्देश्य सारा चीनका विभिन्न जातिका जनतालाई एकत्रित पारेर समाजवादी आधुनिक देशको चौतर्फी रुपमा निर्माण गर्ने, दोस्रो शतवार्षिक लक्ष्य साकार तुल्याउने र सम्पूर्ण रूपमा चीन राष्ट्रको पुनरूत्थानलाई अघि बढाउने उल्लेख छ।

समाजवादी आधुनिक चीनको चौतर्फी रुपमा निर्माण गर्नका लागि दुई चरणमा विभाजित गरिएको छ। सन् २०२० देखि २०३५ सम्म आधारभूत रूपमा समाजवादी आधुनिकीकरणलाई साकार तुल्याउने पहिलो चरण हो भने  सन् २०३५ देखि २०५० सम्म चीनलाई धनी, लोकतान्त्रिक, सभ्य, मेलमिलापयुक्त र सुन्दर समाजवादी आधुनिक बलियो मुलुक निर्माण गर्ने दोस्रो चरण हो। आगामी पाँच वर्षमा यी उद्देश्यलाई साकार तुल्याउने कार्य यही महाधिवेशनबाट सुरू भएको प्रतिवेदनमा लेखिएको छ।

सीपीसीको नेतृत्वमा समाजवादी आधुनिकीकरण भनेको आफ्नै राष्ट्रिय सर्तहरुको चिनियाँ विशेषतायुक्त आधुनिकीरण हो भनी प्रतिवेदनमा स्पष्ट पारिएको छ। प्रतिवेदनमा भनिएको छ ‘चिनियाँ आधुनिकीकरण जनसंख्याको एक विशाल आधुनिकीकरण हो, यो सबै व्यक्तिको सामान्य धनको आधुनिकीकरण हो, यो भौतिक सभ्यता र आध्यात्मिक सभ्यताको आधुनिकीकरण हो, मानिस र प्रकृतिको सामञ्जस्यपूर्ण आधुनिकीकरण हो, यो शान्तिमय विकासको आधुनिकीकरण हो।’

उल्लिखित भनाइबाट चिनियाँलाई देशभक्ति र महान् पुनर्जागरणका लागि चीनले अपनाउँदै आएको राष्ट्रिय भावनामा अझै सशक्त बनाइने संकेत भेटिन्छ। १८ औँ शताब्दीदेखि २० शौँ शताब्दीको मध्यसम्मको इतिहासलाई चीनले भोगेको सबैभन्दा पीडादायी, संकटपूर्ण र अपमानजनक युग भनेर चिनियाँहरुले उल्लेख गरेका छन्। यो पृष्ठभूमिलाई उल्लेख गर्दै चीनलाई १८ औँ शताब्दी अगाडिकै अवस्थामा फर्काउनका लागि सी चिनफिङले महासचिव भएपछि चिनियाँ सपना र महान् राष्ट्रिय पुनर्जागरणको नारा अगाडि सार्नु भएको थियो। यही बलमा सीपीसी र चीन सरकार ९३ प्रतिशतभन्दा बढी चिनियाँ जनताबाट विश्वास र स्वीकृति प्राप्त बनेको छ।

 

विकाससँगै वातावरण संरक्षण

प्रतिवेदनमा चीनको आर्थिक तथा प्राविधिक विकासमा जोड दिइने उल्लेख छ। चीनले श्रम, ज्ञान तथा आविष्कारलाई कदर गर्ने, दक्ष व्यक्तिको बनौटलाई पूर्णता दिलाउने, विश्वको महत्वपूर्ण दक्ष व्यक्ति केन्द्र तथा आविष्कारबारेको अग्लो ठाउँको निर्माणलाई द्रूत पार्ने र विभिन्न क्षेत्रको दक्ष व्यक्तिलाई चिनियाँ कम्युनिष्ट पार्टी तथा जनताको कार्यमा केन्द्रियरूपमा ल्याएको सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदनमा प्रष्ट्याइएको छ।

विकास निर्माणमा वातावरण संरक्षणमा जोड दिइने सी चिनफिङले बताउनु भएको छ। विगत दश वर्षमा स्वच्छ पानी र वनजङ्गलको संरक्षण गरिएको भन्दै पर्यावरणीय सभ्यता प्रणालीमा एक ऐतिहासिक तथा वैश्विक परिवर्तन रहेको सीले बताउनु भएको छ। चीनको आकाश झन् निलो, पहाडहरू झन् हरिया र पानी झन् स्वच्छ भएको उहाँले बताउनु भएको हो।

चीनले वातावरण प्रदूषणको प्रतिरोधलाई अघि बढाएको, निरन्तर रुपमा निलो आकाश, हरियो पानी र सफा जमीनको संरक्षण गरिरहेको उल्लेख गर्दै आधारभूत रूपमा गम्भीर प्रदूषण हटाएको, सहरी प्रदूषित पानीको समस्या समाधान गरेको, माटो प्रदूषणको प्रतिरोध गरेको, वातावरणसम्बन्धी पूर्वाधारको निर्माण गरेको र सहर तथा ग्रामीण क्षेत्रको वातावरण सुधार गरेको प्रतिवेदनले बताएको छ।

सी चिनफिङ सत्तामा आएपछि चीनले व्यापक रुपमा वातावरण संरक्षणमा काम गरेको छ। सन् २०१३ मा प्रधानमन्त्री ली खछ्याङले प्रस्तुत गर्नुभएको पहिलो सरकारी प्रतिवेदनमा चीनले अन्धाधुन्द विकास गरेको भन्दै अघिल्ला सरकारका योजनाको आलोचना गरिएको थियो। सन् २००२ देखि २०१२ सम्ममा चीनमा अत्यधिक प्रदूषण बढेको भनेर खेर गएको दसक भन्दै आलोचना हुने गरेको छ। दस वर्ष अगाडि अत्यधिक प्रदूषित बेइजिङ सहर हिजोआज निकै स्वच्छ बनिसकेको छ। यही उपलब्धिलाई सीले प्रतिवेदनमा समेट्नु भएको हो।

चीनले कार्वन उत्सर्जनको चरम र कार्वन तटस्थतालाई सक्रिय बनाउँदै चीनको ऊर्जा-श्रोतको अवस्थाअनुसार योजनामूलक तथा चरणवद्ध कार्बन उचाइको कार्वाही अघि बढाउने कुरा प्रतिवेदनमा उल्लेख छ। ऊर्जा-श्रोतको क्रान्ति गर्ने, कोइलाको प्रभावकारी प्रयोगलाई सबल पार्ने, नयाँ ढाँचाको ऊर्जा-श्रोत व्यवस्थाको परिकल्पना तथा निर्माणलाई द्रुत पार्ने तथा जलवायु परिवर्तनको विश्वव्यापी व्यवस्थापनमा सक्रियताका साथ भाग लिने विषय प्रतिवेदनमा समेटिएको छ।

 

भ्रष्टाचार विरुद्धको अभियान नरोकिन

चीनले लिएको भ्रष्टाचार विरुद्धको अभियान विश्वले ध्यान दिएको अर्को विषय हो। विशेष गरी सीपीसीका वरिष्ठ नेता र जनमुक्ति सेनाका उपल्लो दर्जाका जर्नेलहरु समेत भ्रष्टाचार मुद्दामा डामिएका छन्।

सी महासचिव भएपछि सबैभन्दा सशक्त रुपमा भ्रष्टाचार विरोधी अभियान चलाइएको छ। यो प्रतिवेदनमा पनि सीपीसीका हरेक क्याडरले आत्मसमीक्षा गर्नुपर्ने उल्लेख छ। प्रतिवेदनमा भनिएको छ 'भ्रष्टाचार नै पार्टीको जीवन्त शक्ति र लडाईँलाई हानि पुर्‍याउने सबभन्दा ठूलो क्यान्सर भएकाले भ्रष्टाचारको विरोध पार्टीको सबभन्दा गहिरो आत्मक्रान्ति भएको छ। भ्रष्टाचारी हुर्किने जमिन भएसम्म भ्रष्टाचार विरोधी युद्ध कहिल्यै पनि रोकिने छैन। सीपीसीले शून्य सहनशीलताको तरिकाबाट भ्रष्टाचारको विरोध गर्ने कुरामा जोड दिन्छ।'

भ्रष्टाचार विरुद्धको अभियानले नै सीपीसी र चीन सरकारलाई जनतामा लोकप्रिय बनाएको विश्वप्रख्यात अमेरिकी हार्डवर्ड विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनमा पनि उल्लेख छ।

सी चिनफिङ महासचिव भएपछि सरकारी खर्च कटौति गर्दै भ्रष्टाचार विरुद्धको अभियान चलाएर देशलाई बचाएको चिनियाँ सञ्चार माध्यमहरुले लेख्ने गरेका छन्। सीले यो अभियान जारी रहने प्रतिवेदमा लेखेका छन्।

  

नवीन विकास

विकास निर्माणमा चीनले केही महत्वपूर्ण प्रविधिको विकास हासिल गरेर रणनीतिक नवीन उदाउँदो उद्योग विकसित हुँदै विशाल बनेको प्रतिवेदनमा लेखिएको छ।

विकास प्रक्रियामा जनताको जीविकोपार्जन सुनिश्चित गर्न र सुधार गर्न जोड दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। जनताको राम्रो जीवन निर्माण गर्न साझा प्रयासलाई प्रोत्साहन दिनुपर्ने र जनताको राम्रो जीवनको चाहनालाई निरन्तर रूपमा महसुस गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ। प्रतिवेदन प्रस्तुत गर्दै महासचिव सीले भन्नुभयो ‘हामीले बहुसंख्यक जनताको आधारभूत हितलाई महसुस गरी विकास गर्नुपर्दछ, जनताको सबैभन्दा प्रत्यक्ष र व्यावहारिक हितलाई दृढतापूर्वक ग्रहण गर्नुपर्छ।'

सीपीसीको बीसौँ महाधिवेशनमा सी चिनफिङले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा चीनले अन्तरिक्ष क्षेत्रमा गरेको प्रगतिलाई पनि प्राथमिकताका साथ राखिएको छ। मानववाहक अन्तरिक्ष, चन्द्रमा तथा मंगल ग्रहको अन्वेषण, गहिरो समुद्र तथा भूमिगत अन्वेषण, सुपर कम्प्युटर, उपग्रहद्वारा नेभिगेशन, विशाल उडान विमानको उत्पादन तथा औषधि आदि क्षेत्रको ठूलो विकासमा आविष्कारक मुलुकको पंक्तिमा चीन प्रवेश गरेको कुरा पनि सी चिन फिङले प्रतिवेदन प्रस्तुत गर्दै बताउनु भएको छ।

   दस वर्षमा डबल अर्थतन्त्र

यतिबेला चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। कोरोना महामारीबाट क्षति हुँदा पनि चीनको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अगाडि बढिरहेको छ। सी चिनफिङले आफ्नो प्रतिवेदनमा आर्थिक उपलब्धिलाई पनि समेट्नु भएको छ। दस वर्षमा चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा ५४० खर्ब चिनियाँ युआनबाट बढेर ११४० खर्ब चिनियाँ युआन पुगेको, चीनको कूल आर्थिक मात्रा विश्व अर्थतन्त्रमा १८.५ प्रतिशत रहँदै ७.२ प्रतिशत वृद्धिका साथै विश्वको दोस्रो स्थानमा रहेको सी चिनफिङले बताउनुभयो।

प्रतिवेदनमा उल्लेख छ 'चीनले उच्चस्तरीय वैदेशिक खुलापन अगाडि बनाउने, शक्तिशाली व्यापारिक मुलुकलाई द्रुतरूपमा अघि बढाउने, बीआरआईको संयुक्त रूपमा उच्चगुणस्तरीय विकास गर्ने  र बहु-स्थिर अन्तर्राष्ट्रिय आर्थिक बनौट तथा आर्थिक व्यापारिक सम्बन्धलाई कायम राख्न पहल गर्नेछ।'

सुधार र खुलापनलाई अँगाल्दै समाजवादी बाटोमा चीनको विकास कस्तो हुने भन्ने बारेमा पश्चिमा जगतले चासो राखेको छ। विशेष गरी चीनमा केन्द्र सरकारको नियन्त्रणमा उद्योगधन्दा र व्यवसाय रहेकाले ती व्यवसायका बारेमा सीपीसीको बीसौँ महाधिवेशनले कुनै नयाँ निर्देशन ल्याउँछ कि भन्ने कुरामा उनीहरुको चासो हो। चीनले नयाँ युगमा समाजवादी बाटो अनपाउनका लागि सार्वजनिक तथा निजी अर्थतन्त्र निर्माण गर्ने कुरालाई स्पष्ट पारेको छ। चीनले समाजवादी उच्चस्तरीय बजारमूलक आर्थिक व्यवस्था बनाउने, समाजवादी आधारभूत आर्थिक प्रणालीलाई कायम राख्नुका साथै पूर्णता दिलाउने, सार्वजनिक स्वामित्वको अर्थतन्त्र दृढताका साथ विकास गर्ने, गैर-सार्वजनिक स्वामित्वको अर्थतन्त्र दृढताका साथ प्रेरित गर्ने, त्यस्ता व्यवसायलाई समर्थन तथा निर्देशित गर्ने, श्रोतको मध्यस्थताका क्रममा बजारको निर्णायक भूमिकालाई सकारात्मक रूपमा निर्वाह गर्ने र सरकारको भूमिका अझ राम्ररी निर्वाह गर्ने प्रतिवेदनमा उल्लेख छ।

अर्थतन्त्रमा कम्युनिष्टहरु वितरणमुखी हुने गरेको आरोप पूँजीवादीहरुले लगाउने गर्छन्। पूँजीवादी नीतिमा सक्नेले कमाउने र गरिब अझ गरिब हुँदै जाने नीति भएकाले त्यसको विकल्पमा समाजवादी नीति लिएर कम्युनिष्टको जन्म भएको हो। यही सिद्धान्त अनुसार चीनले वितरण प्रणालीमा केही चुस्त नीति अगाडि सारेको छ।

चीनले वितरण प्रणालीमा सुधार गर्नुपर्ने, कामको आधारमा वितरणको सिद्धान्त पालना गर्नुपर्ने, बहुविधा वितरण विधिसँग सहअस्तित्वमा रहनुपर्ने, काम अनुसार पारिश्रमिकको सिद्धान्तलाई पालना गर्ने, धनी बन्न कडा परिश्रमलाई प्रोत्साहन गर्ने, निष्पक्ष अवसरको प्रवर्द्धन गर्नुपर्ने कुरा पनि प्रवेदनमा उल्लेख छ। न्यून आय भएकाहरुको आम्दानीमा बृद्धि गर्ने, मध्यम आय समूहको विस्तार र आय वितरणलाई व्यवस्थित गर्ने, सम्पत्ति संकलनको संयन्त्रलाई व्यवस्थित गर्ने उहाँले बताउनभुयो। उहाँले सबैलाई कडा परिश्रमद्वारा आफ्नो विकासको अनुभव गर्ने अवसर दिनुपर्ने बताउनुभयो।

ताइवान इस्यु र हतियार उठाउने चेतावनी

विश्वले एकदमै ध्यान दिएको ताइवान विषयमा पनि सीपीसीको बीसौँ महाधिवेशनमा चिनियाँ दृष्टिकोण स्पष्ट पारिएको छ। सी चिनफिङले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा भनिएको छ 'देश जनता हो र जनता देश हो। सीपीसीले शत्रुसँग युद्ध गर्दै जनता र देशको रक्षा गर्नका लागि नेतृत्व गर्नेछ र यो जनताको हृदय हो।'

ताइवान विषयमा नामै लिएर प्रतिवेदनमा भनिएको छ 'ताइवान समस्याको समाधान गर्नु चिनियाँहरूको आफ्नो मामिला भएकाले चिनियाँहरू आफैँले निर्णय गर्नेछन्।' चीनले सकेसम्म शान्तिपूर्ण एकता गर्ने नभए हतियार प्रयोगको अधिकारलाई नत्याग्ने प्रतिवेदनमा भनिएको छ। उक्त सशस्त्र उपायले विदेशी हस्तक्षेपकारी शक्ति र थोरै ताइवान पृथकतावादी शक्ति लक्षित हुने तर व्यापक ताइवान देशबन्धु लक्षित नहुने भन्दै राष्ट्रको एकता, चीन राष्ट्रको पुनरूत्थान सपना पक्कै साकार हुने विश्वास सीले उल्लेख गर्नु भएको छ।

चीनले अपनाउँदै आएको स्वतन्त्र र शान्तिपूर्ण कूटनीतिक अडिग रूपमा लागू गर्दैआएको र निरन्तर लागु हुने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार चीनले आफ्नो अडान तथा नीतिको निर्णय गर्दैआएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत नियम र अन्तर्राष्ट्रिय न्यायिक निष्पक्षताको संरक्षण गर्ने कुरामा चीन अडिग रहने छ।

चीन सधैँ सम्प्रभुताको विरोधी

चीनले सबै किसिमका सम्प्रभुतावादको दृढ बिरोध गरेको र शीत युद्ध तथा अरू देशको आन्तरिक मामिलामा हस्तक्षेपका साथै दोहोरो मापदण्डको पनि विरोध गरेको सी चिनफिङले प्रतिवेदन प्रस्तुत गर्दै बताउनुभयो। चीन विस्तारवाद तथा सम्प्रभुतावादतर्फ कहिल्यै नजाने पनि उहाँले जोड दिनुभयो।

विशेष गरी अमेरिकाले चीनका सिन्च्याङ, हङकङ, तिब्बत लगायतका विषयमा हस्तक्षेप गर्दै आएको छ। अमेरिकाले मानव अधिकारका नाममा अर्को मुलुकमाथि हस्तक्षेप गर्ने  गरेको भन्दै चीनले अमेरिकी यस्तो नीतिलाई भण्डाफोर गर्दै आएको छ। पछिल्लो समय ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीचको विवाद चरम विन्दुमा पुगेको छ। अमेरिकाले लिने दुईधारे नीति र हस्तक्षेपलाई प्रभुत्ववाद तथा अन्तर्राष्ट्रिय प्रचलनको घोर उल्लङ्घन भन्दै चीनले अमेरिकी नीतिको विरोध गरेको हो। प्रतिवेदनको उल्लिखित अंश पनि अमेरिका लक्षित रहेको कुरा प्रष्ट छ।

सीपीसीको २० औँ महाधिवेशनको उद्घाटन सत्रमा आइतबार बिहान पेश गरिएको प्रतिवेदनले आगामी पाँच वर्षको चीनको समग्र नीति बोलेको छ। यस बीचमा चीनको अर्थतन्त्र र विकासको गति के कस्तो हुने भन्ने चासोलाई यो प्रतिवेदनले स्पष्ट पारेको छ। चीनको कूटनीति अन्तर्गत ताइवान विषयलाई लिएर यस अगाडि प्रतिवेदनमा भन्दा यसपटक कडा रुपमा प्रस्तुत गरिएको छ। चीन र अमेरिकाबीचको बढ्दो द्वन्द्वको प्रतिफलका रुपमा यसलाई लिन सकिन्छ। सुधार र खुलापनको मूल मर्मलाई अझै फराकिलो बनाउँदै चिनियाँ अर्थतन्त्रलाई सही दिशानिर्देश गर्नका लागि महत्वपूर्ण र गहन विषय प्रस्तुत गरिएको छ।