नेपाल प्रहरीको कार्यसम्पादन क्षमताले अन्तर्राष्ट्रिय प्रशंसा पाएको नेपालका प्रधानमन्त्रीको भनाइ
2022-10-17 15:39:34cri
Share with:

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रंशसा हुने गरेको बताउनु भएको छ। ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो। ‘नेपाल प्रहरीको कार्यसम्पादक क्षमताका देशिभत्रमात्र नभई बाहिर पनि प्रशंसा हुँदै आइरहेको छ,’ प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भन्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

वर्तमान युग सूचना प्रविधिको युग भएको भन्दै प्रधानमन्त्री देउवाले समयसँगै परिवर्तन हुन प्रहरीलाई निर्देशन दिनु भएको छ। ‘आजको युग सूचना प्रविधिको युग हो। परम्परागत प्रविधिलाई समयको परिवर्तनसँगै सूचना प्रविधिमा अघि बढ्न सकेमात्रै अपेक्षित परिणाम हासिल हुनेछ। यसलाई मध्यनजर गर्दै अघि बढ्न निर्देशन दिन चाहन्छु।’ प्रधानमन्त्री देउवाले सम्बोधनको क्रममा भन्नुभयो।

देउवाले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा समपन्न गर्नका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी ४ मंसिरको निर्वाचन शान्तिपूर्ण बनाउनका लागि कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त भएको उहाँले बताउनुभयो।