उत्पादन बढेपछि सयपत्री माला आयात घटाइँदै
2022-10-17 15:36:53cri
Share with:

देशका विभिन्न ठाउँमा व्यावसायिक खेती हुन थालेपछि यस वर्ष सयपत्री फूलका मालाको आयात घटाउने तयारी भइरहेको छ । यस वर्ष तिहारका लागि १ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख थान माला भारतबाट ल्याइने फूल व्यवसायी एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाले बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ । गत वर्ष १४ लाख ५२ हजार थान माला आन्तरिक उत्पादन र ३ लाख ६३ हजार थान माला आयात गरिएको थियो । यस वर्ष १७ लाख थान माला आन्तरिक र ३ लाख थान माला आयातित हुने उहाँले बताउनुभयो । यस वर्ष ६३ हजार थान कम माला भारतबाट आयात गरिने भएको छ ।

यस वर्ष तिहारमा सयपत्री माला २० लाख, मखमली माला ३ लाख २५ हजार र गोदावरी माला २० हजार थान खपत हुने उहाँको अनुमान छ । बजारमा चहलपहल बढेकाले यसपालि सयपत्री फूलको कारोबार १० प्रतिशतले बढ्ने पनि एसोसिएसनको आकलन छ । ‘गत वर्ष कोरोना महामारी थियो । तर यस वर्ष छैन । त्यसैले सयपत्री फूलको माग बढ्ने अपेक्षा छ,’ लामाले भन्नुभयो, ‘पछिल्ला वर्षमा १० देखि १५ प्रतिशतले फूलको माग बढ्दै गएको छ ।’

तिहारको भाइटीका आउन केही दिन बाँकी छ । त्यसैले मखमली फूल किसानलाई यतिबेला भ्याइनभ्याइ छ । मखमली फूल नबिग्रने हुँदा किसान यतिबेला फूल टिप्न र माला बनाउन व्यस्त छन् । उनीहरूले आफ्ना उत्पादनलाई बजारमा समेत पुर्‍याइसकेका छन् ।

भक्तपुर गुन्डुकी अनिता बस्नेतले व्यावसायिक फूलखेती गर्नु भएको छ। मौसमी फूल खेतीभन्दा बाह्रै मास खेती गर्दा धेरै फाइदा हुने उहाँको अनुभव छ । हालसम्म मखमली फूलका १८ हजार थान माला बजार पुर्‍याइसकेको उहाँले जनाउनुभयो । ठमेलमा उहाँले प्रतिमाला २५ रुपैयाँ रुपैयाँमा बेच्ने गर्नु भएको छ । सयपत्री फूल भने प्रतिगुच्छा ८ देखि १५ रुपैयाँमा बिक्री हुन्छ । झन्डै २० वर्षदेखि मखमली फूलको खेती गरे पनि उहाँले सयपत्री फूलको व्यावसायिक खेती गर्न थालेको ५ वर्ष भयो ।

गुन्डुका प्रायः हरेक घरमा मखमली फूल खेती हुन्छ । तिहार आउनुअगावै मखमली फूलका बोट खाली हुन थालेका छन् । कतिपय किसानले साउनदेखि नै मखमली फूलका माला बनाउन थालिसकेको बस्नेतको भनाइ छ । ‘मखमली फूल जता रोप्दा पनि हुने भएकाले घरमै बस्ने किसानलाई फाइदा हुन्छ । व्यावसायिक खेती गर्नेलाई भने घाटा हुन्छ,’ उहाँले भन्नुभयो, ‘फूल टिपेर माला उनेर पसल पुर्‍याउँदा प्रतिमाला २५ रुपैयाँ मात्र आउँछ । घरमा यत्तिकै बसेर मखमली फूलको माला बेच्नेलाई भने फाइदै हुन्छ ।’

भक्तपुरकै ताथलीका रामेश्वर बासीले पनि फूल खेती गरेका छन् । भूकम्पपछि फूलको व्यावसायिक खेती सुरु गरे पनि सयपत्री फुलाएको यसपालि मात्रै हो । गुलाब, जर्बेरालगायत फूलको व्यावसायिक खेती गर्नु भएका उहाँले यस पटक खुला क्षेत्रमै सयपत्री फूल खेती गर्नु भएको छ। अब यसलाई पनि निरन्तरता दिने योजना रहेको उहाँले सुनाउनुभयो ।

बस्नेत र बासी मात्र होइन, गुन्डु क्षेत्रका अन्य किसान पनि यति बेला फूलका माला बनाउने र बेच्नेसम्मका काममा व्यस्त छन् । गुन्डुसँगै काठमाडौं, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, मोरङ, धनुषा, सर्लाही, सप्तरी, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती हुने गरेको छ । मखमली फूलको व्यावसायिक खेती भने विशेषगरी काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी र बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाममा भइरहेको छ ।