मौसम खुलेसँगै पर्यटकीय चहलपहल
2022-10-18 15:29:47cri
Share with:

वर्षात् सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको गोरखापत्र अनलाइनले लेखेको छ ।

विशेष गरी कात्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा अन्तु डाँडामा मात्रै दैनिक एक हजारभन्दा बढी पर्यटकहरू भित्रिन थालेको पर्यटन व्यवसायी सङ्घ अन्तुका सचिव रुद्र घिमिरेले बताउनुभयो । “यहाँ रहेका सबैजसो होमस्टे, कटेज र होटलहरू करिब साता दिनका लागि बुकिङ भइरहेका छन् । धेरैजसो विद्यालय र अन्य क्षेत्रको पनि दशैँ तिहार बिदा भएकाले योबीचमा अन्तु आउने पर्यटकको सङ्ख्या यो वर्ष उल्लेख्य छ,” घिमिरेले भन्नुभयो, “सूर्योदयको दृश्यावलोकनका लागि बनाइएको भ्युटावर, त्यहाँको पटाङ्गिनी र त्यहाँको सौन्दर्यीकरणले पनि पर्यटकलाई तानेको छ ।” सूर्योदयको दृश्यावलोकनसँगै अन्तु पोखरीमा डुङ्गा सयर, चिसो मौसमले पनि यो वर्ष काठमाडौँ, पोखरादेखि धनगढीसम्मका पर्यटक अन्तु भित्रिरहेको घिमिरेले जानकारी दिनुभयो ।

सूर्योदय नगरपालिकाको फिक्कलस्थित छिविटारबाट १४ किलोमिटर पक्की सडक पार गरेर पुग्न सकिने अन्तुमा अहिले पर्यटन पूर्वाधारको थप काम हुन लागेको छ । सहरी विकास मन्त्रालयको सघन सहरी योजनाअन्र्तगत नमुना बस्ती, अन्तुको सौन्दर्य सुधारलगायतका काम सुरु हुन लागेको जनाइएको छ ।

अन्तुमा ८३ घरमा होमस्टे सञ्चालन भएको जनाइएको छ । यहाँ ६३ वटा कटेज र होटलहरू पनि सञ्चालन भइरहेका छन् । होमस्टेहरूले भने यो वर्ष खाना र बासमा गतवर्षकै मूल्य कायम गरेको बताइएको छ । दैनिक सरदर २० लाख रुपियाँ बराबरको कारोबार हुने अन्तुमा सादा खाना २५० रुपियाँ र एक रात बास बस्नका लागि सुविधा सम्पन्न कोठाको एक हजार रुपियाँ लिइरहेको अन्तु सामुदायिक होमस्टेका सचिव डम्बर मगरले जानकारी दिनुभयो ।