नारायणगढ–मुग्लिङ सडक खण्डमा १३ वटा पुल निर्माण हुँदै
2022-10-18 15:28:51cri
Share with:

नारायणगढ – मुग्लिङ सडक खण्डमा चालु आर्थिक वर्षभित्र १५ वटा पुलमध्ये १३ वटा पुलको निर्माण सम्पन्न हुने भएको छ। पुल निर्माण कार्य सकिने गरी काम भइरहेको आयोजनाका प्रमुख विपिन कार्कीले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँका अनुसार निर्माण भएका पुलहरूमध्ये १३ वटा पुलहरू यसै आर्थिक वर्षभित्र सकिने। यस सडक खण्डमा १५ वटा पुलहरू निर्माणको क्रममा रहेका छन्। यस सडक खण्डमा कुल १९ वटा पुलमध्ये चार वटा पुलहरू यसअघि नै सम्पन्न भएका छन्।  १५ वटा पुलहरूलाई दुई प्याकेजमा  विभाजन गरेर निर्माण कार्य अघि बढिरहेको छ।

जसमध्ये पहिलो प्याकेजमध्ये ४५ प्रतिशत र दोस्रो प्याकेजमध्ये ८२ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख कार्कीले बताउनुभयो।  समग्रमा १५ वटा पुल निर्माणको काम भने ६० प्रतिशत सम्पन्न भएको छ। १५ वटा पुललाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको हो।

प्याकेज १ मा इच्छा कामना गाउँपालिकाको मुग्लिङबाट रिग्दीखोलासम्मका पुल छन्। जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे ,न्यान्सी र रिद्धप्खोला गरी सात वटा पुलहरू रहेका छन्। यीमध्ये टोपेखोलाको पुलको निर्माण तीन चार महिनाभित्र सक्ने लक्ष्य रहेको छ। चिसेन्जी र तुइन पुलको काम भर्खर सुरु भएको छ । चिसेन्जी र तुइन पर्ने पुल निर्माणमा डाँडा कटान गर्नुपर्ने भएकाले केही समय लाग्ने उहाँको भनाइ छ।

प्रमुख कार्कीले भन्नुभयो, ‘चिसेन्जी र तुइन पुलको काम भर्खर सुरु भएको छ। यी पुलको डिजाइन गर्न नै एक वर्ष लाग्यो, पुल निर्माणका लागि डाँडा कटान गर्नुपर्ने भएकाले पहिले ठाउँ तयार गर्दछौँ। यी दुई ठाउँमा बन्ने पुल भौगोलिक हिसाबले काम गर्न कठिनाइ छ। नाम्चे खोलामा पहिरोले दुःख दिएका कारण काम गर्न केही कठिनाइ भएको उहाँले बताउनुभयो। तिहारपछि भने एक दुई घण्टा सडक बन्द गरेर काम गरिने छ। प्याकेज दुईमा भरतपुर महानगरअन्तर्गत सिमल तालबाट जुगेडीसम्म पुल पर्दछन्।

जुगेडी, खहरे, लामो बालुवा, भोर्ले, डुम्रे, सिमताल र सेतीदोभान गरी आठ वटा पुल पर्दछन्। यस प्याकेजअन्तर्गत जुगेडी बाहेक अन्यको ९० प्रतिशत काम सम्पन्न भएको  आयोजनाले जनाएको छ। दोस्रो प्याकेजअन्तर्गत पाँच वटा पुल तिन चार महिनाभित्रै गाडी गुडाउन  मिल्ने गरी काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिएको प्रमुख कार्कीले बताउनुभयो। उहाँका अनुसार प्याकेज १ का सात पुल ४४२ मिटर लामा छन् भने प्याकेज दुईका आठ पुल ३८१ मिटर लामा छन्।

पुलमा निर्माणमा बजेट अभाव

यस सडखण्डमा पर्ने पुल निर्माणमा बजेट अभाव हुँदा काम गर्न केही समस्या भएको आयोजना प्रमुख विपिन कार्कीले बताउनुभयो। बन्दै गरेका १५ वटा पुलका लागि एक आर्थिक वर्षमा ५० करोड हाराहारीमा बजेटको आवश्यकता पर्ने भए पनि ११ करोड मात्र बजेट विनियोजन हुने गरेको कार्कीले बताउनुभयो।

उहाँले भन्नुभयो, ’१५ वटा पुलका लागि कम्तीमा ५० करोड बजेट आवश्यक पर्छ। तर, यो आर्थिक वर्षमा ११ करोड मात्र बजेट विनियोजन भएको छ। कहाँबाट काम सुरु गर्ने भन्ने अन्योल हुन्छ।‘

मुआब्जा वितरण र घर टहरा विस्थापन गर्न बजेट अभावका कारण काम केही ढिला भएको प्रमुख कार्कीले बताउनुभयो।