मनास्लुमा बढ्दै पर्यटक
2022-10-23 16:06:33cri
Share with:

भदौ र असोजमा मात्र दुई हजार ५ सय ५९ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । कोरोना महामारीपछि मनास्लु क्षेत्रमा पर्यटकको संख्यामा निकै कमी आएको थियो । यी दुई महिनामा भने पर्यटकको चहलपहल बढेको छ । यो वर्ष ५ हजारभन्दा बढी पर्यटक मनास्लु क्षेत्र पुग्ने अनुमान गरिएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सत्यनारायण शाहले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ ।

‘यो वर्ष पर्यटक आगमन राम्रो भएको छ,’ उहाँले भन्नुभयो, ‘कोरोनापछि गत भदौ र असोजमा पर्यटकको संख्यामा सुधार आएको छ, अब अर्को वर्षबाट पुरानै लयमा फर्कने विश्वास लिएका छौँ ।’ भदौमा ६ सय ३७ र असोजमा १७ सय २२ विदेशी पर्यटक मनास्लु पुगेका छन् । असोज तेस्रो साताको बेमौसमी वर्षाले भने अझै पर्यटकको संख्यामा कमी आएको एमक्यापले जनाएको छ । भूकम्प र कोरोना महामारीका बेला मनास्लुमा विदेशी पर्यटकको संख्या घटेको थियो ।

गत आर्थिक वर्ष २ हजार दुई सय ८२ मात्रै विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेको एमक्यापको तथ्यांक छ । गत वर्ष सार्क राष्ट्रका ६२ र अन्य राष्ट्रका दुई हजार दुई सय २० जना पर्यटक मनास्लु क्षेत्र पुगेको एमक्यापले जनाएको छ । यस वर्ष भने अफसिजनमा पनि मनास्लुमा पर्यटक पुगेका थिए । अघिल्लो साउनमा एक जना पनि विदेशी पर्यटक नपुगेको मनास्लु क्षेत्रमा यस वर्षको साउनमा भने २६ विदेशी गएका छन् ।

असारलाई अफसिजन महिना मानिन्छ । गत असारमा १० पर्यटक मनास्लु क्षेत्र भित्रिएका थिए । ‘सेप्टेम्बर १५ बाट पर्यटक आउने सिजन मानिन्छ,’ शाहले भन्नुभयो, ‘यस पटक त अफसिजनमा पनि आए ।’ गत आर्थिक वर्षको चैतमा ८ सय ८ पर्यटक आएका थिए । गत आर्थिक वर्षमा पर्यटकका लागि अफसिजन मानिने पुसमा ३४ र माघमा १२ पर्यटकले यस क्षेत्र भ्रमण गरेका छन् ।

२०७२ को भूकम्प गएको एक वर्ष र कोरोना महामारीका दुई वर्ष भने पर्यटकको संख्या स्वाट्टै घटेको थियो । आर्थिक वर्ष २०७१/७२ मा ५ हजार ६ सय ५८ जना विदेशी पुगेको मनास्लु क्षेत्रमा भूकम्पको वर्ष २०७२/७३ मा २ हजार दुई सय ८८ मात्र पर्यटक गएका थिए । त्यसयता भने पर्यटकको संख्या बर्सेनि बढ्दै गएको थियो । २०७५/७६ मा सबैभन्दा धेरै ७ हजार ६ सय ५५ जना पर्यटक प्रवेश गरेको मनास्लु क्षेत्रमा कोरोनापछि आगन्तुक घट्न थालेका थिए । २०७७/७८ मा १ सय ९४ विदेशीले मात्र मनास्लु क्षेत्र भ्रमण गरेको एमक्यापको तथ्यांक छ । कोरोना महामारीको जोखिम कम भएसँगै गत वर्षबाट पर्यटकको संख्या बढ्न थालेको शाह बताउनुहुन्छ । ‘अन्य मुलुकको तुलनामा नेपालमा कोभिडको जोखिम पनि कम छ,’ उहाँले भन्नुभयो, ‘कोभिडपछि मान्छेलाई घुमफिर गर्ने जोस पनि बढेको छ, विदेशीहरू समय मिलाएर घुम्न आउने भएकाले पनि कोभिड जोखिम कम हुँदा पर्यटक बढ्न थालेका हुन् ।’

मनास्लु संरक्षण क्षेत्र प्रवेशबापत तीन हजार प्रवेश शुल्क तिर्नुपर्ने उनले जनाए । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लुलाई सरकारले सन् १९९५ देखि भ्रमणका लागि खुलाएको थियो ।