नेपालमा एक वर्षमै महँगी वृद्धिदर २.४ गुणा बढ्यो
2022-10-23 16:09:20cri
Share with:

नेपालमा एक वर्षमै मूल्य वृद्धिको दर २.४ गुणा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८.६४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत मात्रै रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ। २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलको मूल्यवृद्धि १७.२९ र घ्यू तथा तेलको मूल्यवृद्धि १४.५३ प्रतिशत छ। होटल तथा रेस्टुरेन्ट उपसमूहको मूल्यवृद्धि १२.३०, मदिराजन्य पेय पदार्थको १०.२४ र तरकारी उपसमूहको मूल्यवृद्धि ९.९ प्रतिशत छ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात सेवाको २३.४१, स्वास्थ्यको १०.५ फर्निसिङ्ग तथा घरायसी उपकरणको ९.२, शिक्षाको ८.१ प्रतिशत मूल्यवृद्धि छ। भौगोलिक रुपमा हेर्दा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.६, तराईमा ९.३३, पहाडमा ८.८ र हिमालमा ६.६ प्रतिशत मुद्रास्फीति छ।