आज नेपालीहरूको दोश्रो ठूलो पर्व तिहार, भाइटीका लगाएर मनाइँदै
2022-10-27 17:26:16cri
Share with:

तिहार वा यमपञ्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथि भाइटीकाको दिन । आज दिदी भाइ बहिनीको विशेष दिन विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान भोजन खुवाउने र दिदी बहिनीहरूलाई उपहार वा दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको खबर गोरखापत्र अनलाइनले छापेको छ।

 

भाइटीकाको पौराणिक कथाअनुसार परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न गए। यमुना पृथ्वीमा बस्थिन् भने यमराज यमलोकमा बस्थे। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाए। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चक अवधि अर्थात् पाँच दिनसम्म यमराज यमुनाकहाँ बसे। यसरी भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी दाजुसँग आशीर्वाद लिई। त्यही बेलादेखि तिहार मनाउन थालिएको हो भन्ने किम्बदन्ती पाइन्छ ।

 

संस्कृतिविद् हरिराम जोशीका अनुसार भाइ पूजा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी सबैको एकत्वको प्रतीक हो। जसले माता पृथ्वीलाई अझै सुन्दर, सुरम्य एवं सौभाग्यकी तुल्याउने गर्छ।

उहाँका अनुसार यसरी पर्वका पाँच दिनलाई यम पञ्चकको संज्ञा दिई माता पृथ्वी तथा तिनका सम्पूर्ण सृष्टिलाई अमरत्व प्रदान गरिने विश्वासको पर्वको रूपमा भाइटीकालाई लिने गरिन्छ। यो पर्वको समयमा माता पृथ्वीले सम्पूर्ण जगतलाई नै ‘स्वाँ’ अर्थात् फूलै फूलको रसले सुवासित तुल्याइने हुँदा यस पर्वलाई स्वाँति चाडको पनि भनिने उहाँ बताउनुहुन्छ।

“देव, दानव एवं मानव सबै उही आमाबुबाका सन्तान हुन् । त्यसैले तिनीहरू सबै भाइ भाइ रहन्छन् र समान रूपमा माया, सद्भाव र पूजा गर्ने गरिन्छ जसले भाइटीकाको अर्थ प्रस्तुत गर्ने गरेको पाइन्छ,” उहाँले भन्नुभयो ।

यसबाहेक तिहारको अन्तिम दिन भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट गराउने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा समेत दिने गरिन्छ।

 

भाइटिकाका दिनमा दिदी बहिनीले दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको पनि सांस्कृतिक महत्त्व रहेका छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै फिका हुँदैन र दूबो सधैँ हरियो रहन्छ ।

 

आजको दिन यमराजको आह्वान गर्ने, बिमिरो, भोगटे, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, सयपत्री फूल, सेल राखेर आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्दै हर्षउल्लासका साथ तिहारको अन्तिम दिन मनाउने चलन छ।