विश्वको तेश्रो अग्लो हिमशिखर कञ्चनजङ्घामा पर्यटकीय चहलपहल
2022-10-27 17:26:50cri
Share with:

विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ। लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएका छन्। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो ।

 

कोभिड–१९ का कारण पर्यटक आगमन शून्य भएपछि पेसा परिवर्तन गर्ने सोचमा रहेका होटल सञ्चालकहरू पर्यटक आगमनसँगै पुनः फर्किन थालेका छन्। कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड रुपैयाँभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ ।

 

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोड रुपैयाँभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो। अन्य होटल ८० लाख रुपैयाँदेखि बढीको लगानीमा सञ्चालनमा छन् । लामो समय कोरोनाका कारण बन्द होटल अहिले भरिभराउ छन् ।

 

विस्तारै मौसम खुल्दै गएसँगै कञ्चनजङ्घा हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जैविक विविधताको अवलोकन तथा चाँदीजस्तै टल्किने कञ्चनजङ्घा हिमालको नजिकैबाट दृश्यावलोकनले छुट्टै आनन्द मिल्ने गरेको पाँचथरबाट घुम्न आउनुभएका सन्दीप नेम्वाङले बताउनुभयो।

 

कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदर्माग प्रयोग हुँदै आएको छ। पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् ।

 

यो पदर्माग (साउथ रुट)मा पर्दछ। गत सातामात्र साउथ रुट हुँदै फ्रान्सका सात, बेलायतका दुई र भारतका एक पर्यटक कञ्चनजङ्घा हिमाल क्षेत्र प्रवेश गरेको व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताउनुभयो।

 

संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२ विदेशी, ६३ सार्क देशका र ७४ स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो। गएको आव २०७७/७८ मा भने कोरोनाका कारण ६३ जनामात्र पर्यटक भित्रिएका थिए ।

 

संरक्षण क्षेत्रमा आउने पर्यटक ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा र कञ्चनजङ्घा हिमालको अध्ययन अवलोकन गर्न पुग्ने गरेका छन् ।

 

गत असोज १५ गतेदेखि कात्तिक र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बू)ले बताउनुभयो।