मनमोहक भू–दृश्यले फेरिँदै हिमालपारिको मुस्ताङ क्षेत्रको मुहार
2022-10-28 15:19:38cri
Share with:

हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन्। मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ।

धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो। पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ। यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन्। पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको राससले लेखेको छ।

 

खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताउनुभयो।सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङलगायतका दृश्यले पनि धेरैलाई लोभ्याउने गर्छ। पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा फाइदा पुगेको छ। मुस्ताङ नेपालका लागि मात्र नभएर विश्वकै लागि चर्चित बन्न पुगेको छ। विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइक्लिङ गर्न रुचाउँछन्।

 

पोखरा–बागलुङ राजमार्गलाई मालढुङ्गामा छाडेर बेनी, तातोपानी, रुप्से हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ ।

मुस्ताङ सदरमुकाम जोमसोम हो । यसको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएकले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब–करिब बीच भाग भएर कालीगण्डकी नदी बग्दछ।