तराईवासीको परम्परागत छठ पर्वमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
2022-10-30 18:56:05cri
Share with:

नेपालको तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्वको उपलक्ष्यमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना दिनुभएको छ। छठ पर्व हाल आएर काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि प्रेरणा मिलोस्।’

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको शुभकामना दिँदै यस पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनुभएको छ। उहाँले कोभिड–१९ र डेङ्गुजस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्दै यस वर्षको छठ मनाउन सबैमा आग्रहसमेत गर्नुभएको छ। 

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ। विना भेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर छठपर्व मनाइन्छ ।