पर्यटन प्रवर्द्धनका लागि विदेशी पर्यटकबीच दौड प्रतियोगिता
2022-10-30 18:50:40cri
Share with:

प्राकृतिक र सांस्कृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न तनहुँको बन्दीपुरमा बाह्य पर्यटकबीच दौड प्रतियोगिता गरिएको छ। विदेशी क्लबको आयोजना र काठमाडौंस्थित एक ट्रेकिङ एजेन्सीको समन्वयमा बन्दीपुरमा बाह्य पर्यटकबीच दौड प्रतियोगिता गरिएको हो ।

तीनदिने दौड प्रतियोगिताअन्तर्गत शुक्रबार बन्दीपुर बजारबाट करिब तीन किमि दूरीको र शनिबार करिब ६ किमि दूरीको प्रतियोगिता भयो । आइतबार बन्दीपुर बजारबाट रामकोटसम्म ५ किमि दूरीमा दौड प्रतियोगिता गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न मुलुकबाट आएका ६८ पर्यटकको सहभागिता रहेको हेल्लो माउन्टेन ट्रेकका प्रबन्ध निर्देशक विकास गुरुङले बताउनुभयो। अमेरिका, ब्राजिल र फ्रान्सका पर्यटक दौड प्रतियोगितामा सहभागी भएका छन्।

शुक्रबारदेखि यी पर्यटक बन्दीपुरमै छन् । बन्दीपुरसँगै पोखरा र काठमाडौंमा पनि यिनै पर्यटकबीच दौड प्रतियोगिता गरी नेपालको सुन्दताको विषयमा जानकारी गराइने र पुनः नेपाल घुम्न आउने वातावरण बनाउने उद्देश्य रहेको गुरुङले जनाउनुभयो।

पर्यटक दौडिँदै पुगेको अन्तिम बिन्दुमा रहेका सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री पनि वितरण गरिएको छ । ‘बन्दीपुरका दुई विद्यालयका करिब एक सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आइतबारको दौड प्रतियोगितापछि ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको गुरुङको भनाइ छ । एक हजार ४ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने पर्यटकको योजना छ । कोभिडले थला परेको बन्दीपुरको पर्यटकीय गतिविधिलाई माथि उठ्न यो दौड प्रतियोगिताले थप टेवा पुगेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभएको कान्तिपुर अनलाइनमा खबर छ।