सिमकोट–हिल्सा सडकखण्ड सुचारु
2022-10-30 18:51:22cri
Share with:

कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकको सिमकोट यारी खण्डको यातायात सुचारु भएको छ । पहिरोले च्याछरा लगायतका क्षेत्रमा अवरुद्ध भएको सडक मर्मत गर्ने कार्य भएपछि यातायात सञ्चालनमा आएको हो। नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले सिमकोट हिल्सा सडकको सिमकोट–यारी खण्डमा सडक सुचारु भएको बताउनुभयो। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको वर्षाले सो खण्डको सडकमा दश स्थानमा सडक पहिरोले क्षति गरेपछि यातायात बन्द रहेको थियो।

 

विशेषगरी असजिलो च्याछरा क्षेत्रमा मर्मत गर्ने कार्य भएपछि सडक सुचारु भएको छ। गाउँपालिकाको लगानीमा क्षति पुगेको सडकको मर्मत गर्ने कार्य भएपछि २० दिनपछि यातायात सुचारु भएको उहाँले बताउनुभयो। सो सडक हिल्सा–सिमकोट सडक आयोजनाले निर्माण कार्य गरिरहेको भए पनि नाम्खा गाउँपालिकाले यस पटक वर्षाबाट सडकलाई पुगेको क्षतिको मर्मत कार्य गरेको गोरखापत्र अनलाइनले जनाएको छ।  

 

करिब ८० किलोमिटर सडकको ठाउँ ठाउँमा भएको क्षतिको मर्मत गर्ने कार्य गरेपछि हाल यारीसम्म यातायात सुचारु भएको छ । सडक सुचारु भएसँगै निर्वाचनमा होमिएका उम्मेदवार तथा राजनीति दललाई आउजाउमा सहज भएको छ । सडक मर्मत नभएको भए दलहरू चुनावी प्रचारका लागि पैदल जानु पर्ने अवस्था रहेको थियो ।

 

हाल गठबन्धन दल र नेकपा (एमाले) का उम्मेदवार माथिल्लो हुम्लामा चुनावी प्रचारका लागि लाग्नु भएको छ । सो खण्डको यारीदेखि हिल्लासम्म भने नारालेकमा बाक्लो हिउँ जमेको कारण सडक मर्मत गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ।