अलैँची थन्क्याउन भ्याइनभ्याइ
2022-10-31 16:38:21cri
Share with:

दशैँ, तिहारजस्ता चाडपर्व सकिएसँगै ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ। किसान यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्। असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य समय हो। ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची औल क्षेत्रमा भदौदेखि सङ्कलन गर्न सुरु गरिन्छ। लेकाली क्षेत्रमा मङ्सिर महिनासम्म सङ्कलन गर्ने गोरखापत्र अनलाइनले लेखेको छ। 

भदौदेखि मङ्सिर महिनासम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो। अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पु¥याइदिने हुँदा किसानलाई अलि बढी चटारो हुने गर्छ। 

अलैँची सिजनका कारण दशैँ, तिहारजस्ता चाडपर्व सहज गरी मनाउन नै नपाएको किसानले बताएका छन्। मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फुङ्लिङ नगरपालिका–६, बिहीबारेका किसान केदार पतङ्वाले बताउनुभयो। उहाँले दशैँ घरमै मनाए पनि तिहारमा भने अलैँची बगानमै बिताउनुभएको थियो। 

फुङ्लिङ नगरपालिका–६ कै अर्का किसान खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै तिहार बितेको बताउनुभयो। घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताउनुभयो। पतङ्वा र शेर्पाजस्तै अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची सङ्कलन गर्न र थन्क्याउनमा भ्याइनभ्याइ छ। 

जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ। जिल्लामा करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। प्रमुख नगदेबाली भएकाले धान, मकैजस्ता खाद्यान्न बाली उत्पादन हुने जग्गा नै मासेर किसानले अलैँची खेती गर्दै आएका छन्।