स्पोर्टिङ इलामका सीईओ पियुष फिफा डिप्लोमा कोर्सका लागि छनोट
2022-11-02 16:13:31CRI
Share with:

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डे मेचीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पियुष बहादुर न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन्चालन गरेको क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्षमा छनोट हुनु भएको छ। विश्वभरबाट ४० जना मात्र सहभागी हुने यस कोर्षमा न्यौपाने छनोट भएको स्पोर्टिङ इलामले विज्ञप्तीमार्फत जनाएको अनलाइन खबरले लेखेको छ। विज्ञप्तिमा लेखिएअनुसार विश्व फुटबलमा नाम चलेका जुआन माटा, जोन टेरी, टिम काहिल, फर्नान्डिन्हो, कार्ली लोयड, लगायत खेलाडी पनि सहभागी हुनेछन्।

फिफाले सहभागीमाझ एकआपसमा अनुभव आदानप्रदानसँगै फुटबलमा सन्तुलित वातावरण निर्माण गर्न यस कोर्षले सहयोग पुर्याउने विश्वास राखेको छ। यस कोर्षमा नेतृत्व र व्यवस्थापनसँगै खेल रणनीति, युथ एकेडेमी लगायत विषयमा अध्ययन गराइने उल्लेख गरिएको छ।

१६ महिना चल्ने यस कोर्ष पूरा गर्न सहभागीले ७ राष्ट्रको यात्रा गर्नेछन्। अमेरिकाको न्यूयोर्कमा पहिलो मोड्युल समाप्त भइसकेको छ। अब कोर्षको अर्को मोड्युल कतारमा र त्यसपछि जापान, ब्राजिल, इजिप्ट र स्पेनमा हुनेछ। कोर्षको समापन भने स्विटजरल्यान्डस्थित फिफाको मुख्यालयमा हुनेछ।

विश्वभरका क्लब अफिसियल मध्यबाट आवेदनमार्फत् विभिन्न चरणको छनोटपछि अन्तिम ४० जनाको नाम कोर्षमा छानिएको हो। झन्डै ४ सय जनाको आवेदन र ३ महिनाको छनोट प्रक्रिया पार गरेर नेपालको प्रतिनिधित्व गर्न पाउँदा न्यौपानेले खुसी व्यक्त गर्नुभयो। फिफाको प्रतिष्ठित कोर्षमा अवसर पाउनु खुसीको विषय हो। विश्व फुटबलका ठूला नामसँग अध्ययन गर्दाको अनुभव संगाल्न आतुर छु। त्यहाँ पढे लेखेको कुरालाई नेपाली फुटबलमा प्रयोग गर्न म तत्पर छु,’ न्यौपानेले भन्नुभयो।

फिफा क्लब म्यानेजमेन्ट डिप्लोमा कोर्षको यो दोस्रो संस्करण हो। यसअघि पहिलो संस्करणमा फाबियो कानाभारो, नुनो गोमेस, कार्लोस बोकानेग्रा, फिलिपे सेन्डेरस लगायत ४० जनाले कोर्ष पूरा गरेका थिए।

न्यौपाने अफिसिअल लिभरपुल स्पोर्टर्स क्लब नेपालका (ओएसएलसी) संस्थापक पनि हुनुहुन्छ। उहाँ लगायतले सन् २००७ मा ओएसएलसीको स्थापना गर्नु भएको थियो।