जनताको मान्छे सी चिनफिङ
2022-11-02 18:58:01cri
Share with:

--------अजय अलौकिक

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले सी चिनफिङलाई पुनः सर्वसम्मत रुपमा महासचिवमा चयन गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० को नेतृत्व सम्हालेका ६९ वर्षीय सी चिनफिङले चिनियाँ आधुनिकीकरणको बाटो पछ्याउँदै देशलाई राष्ट्रिय कायाकल्पतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सन् २०१२ मा सीपीसीको शीर्ष पद सम्हालेदेखि नै सी चिनफिङले राष्ट्रिय पुनःउत्थानका लागि प्रयास गर्ने, जनताका लागि सुखी तथा राम्रो जीवन बिताउने अवस्थाको सिर्जना गर्ने र पार्टीभित्रका समस्याको समाधान गर्न सीपीसीको नेतृत्व गर्ने भनेका थिए।

पछिल्लो एक दशकमा उनको नेतृत्वमा चीनका साथै विश्वले ऐतिहासिक परिवर्तन देखेको छ। उनको नेतृत्वमा चीनले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा आफ्नो स्थानलाई बलियो बनाएको छ। एक दशकमा विश्व अर्थतन्त्रमा चीनको कुल गार्हस्थ उत्पादनको हिस्सा ११.३ प्रतिशतबाट बढेर १८.५ प्रतिशत पुगेको छ।

हालका वर्षमा विश्वव्यापी आर्थिक वृद्धिमा चिनियाँ अर्थतन्त्रको औसत रूपमा ३० प्रतिशतभन्दा बढी योगदान रहँदै आएको छ। चीनको अर्थव्यवस्था ११४ ट्रिलियन युआन (१६ ट्रिलियन अमेरिकी डलर) भन्दा बढी पुगेको छ।

हुन त दस वर्षअघि जब सी पार्टीको शीर्ष पदमा पुगेका थिए, चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र शीर्ष उत्पादक राष्ट्र बनिसकेको थियो। तथापि देशभित्र भ्रष्टाचार, प्रदूषण र धनी-गरिब आयको खाडलजस्ता अन्य मुद्दा गम्भीर चुनौतीका रूपमा थिए।

अहिले चीन निरपेक्ष गरिबीमुक्त देश भएको छ र १.४ अर्ब जनताका लागि मध्यम औसत समृद्धि हासिल गरेको छ। तर सो दस वर्षको उत्तरार्धमा अमेरिकासँगको व्यापार युद्ध, अर्थतन्त्रलाई स्थिर राख्ने दबाव, कोभिड-१९ महामारीले समग्र विकासमा अवरोध खडा गरेको छ। यी व्यवधान नै सी सत्ताको शक्तिको परीक्षा बन्न पुगेको छ जहाँ उनी सफल भएको पनि देखिन्छ।

उनै महत्त्वाकांक्षी व्यक्तित्व सी चिनफिङ चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र पार्टीको केन्द्रीय सैन्य आयोगका अध्यक्षमा नियुक्त भएका थिए।

सन् २०१२ नोभेम्बरमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव पद सम्हालेदेखि नै विश्वमाझ चिनिन थालेका उनी सन् २०१३ मार्चमा १२औँ राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनबाट जन गणतन्त्र चीनको राष्ट्रपति र चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षमा नियुक्त भएका थिए।

चीनको राष्ट्रपति भएदेखि विश्वमा उनको एक दृढ, महत्त्वाकांक्षी, विश्व आर्थिक गतिलाई तीव्रता दिने र विश्वको साझा हित र जितका लागि पहल गर्ने एक शक्तिशाली नेताको छवि बनेको छ।

सी चिनफिङको जन्म सन् १९५३ जुनमा पल्लो सान्सी प्रान्तको फुफिङ जिल्लामा एक राजनीतिक परिवारमा भएको थियो। उनका बुवा सी चोङसुन कम्युनिस्ट पार्टीका नेता तथा सन् १९५९ देखि ६२ सम्म चीनको उपप्रधानमन्त्रीसमेत भएका थिए।

उनले सन् १९६२ देखि १६ वर्षसम्म राजनीतिक उत्पीडनसमेत झेल्नुपरेको थियो। सांस्कृतिक क्रान्ति (१९६६-१९७६) पछि सफाइ पाएपछि सन् १९७८ देखि फेरि पार्टीमा सक्रिय भएका थिए। बुवा सी चोङसुनलाई भ्रष्टाचार आरोप लागेपछि सम्पन्न जीवन व्यतीत गरिरहेका सीसामु दुःखका दिन आइपरेको थियो।

जुझारु सीले पीडालाई सहजै स्वीकार्दै सन् १९६९ देखि १९७५ सम्म पल्लो सान्सी प्रान्तको येनछ्वान जिल्लाको वनआनयी कम्युनअन्तर्गत ल्याङ च्याह टोलीमा रहेर विद्यार्थीकालमा श्रमिक युवाको हैसियतले श्रम गरेका थिए। सोही समयमा चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत स्थानीय समितिको सचिव भएका थिए। सीले सन् १९७४ मा दस पटकको प्रयासपछि चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए।

ल्याङ च्याहमा बटुलेको अनुभवबाट आफूले ‘जनता’ शब्दको अर्थ बुझेको र यसले ‘जनताको सेवा’ गर्ने आफ्नो अठोटलाई अझै बलियो बनाएको उनी बताउने गर्छन्।

सन् १९७९ देखि १९८२ सम्म राज्य परिषद्को कार्यालय तथा चीनको केन्द्रीय सैन्य आयोग कार्यालयका सचिव भएका सी सन् १९८२ मा हपै प्रान्तको चङतिङ जिल्ला समितिका उपसचिव हुँदै १९८५ देखि ८८ सम्म चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत फुच्येन प्रान्तको स्यामन सहर समितिको स्थायी सदस्य एवम् स्यामन सहरको उपमेयर भएका थिए। उनले सन् १९८५ देखि २००२ सम्म आफ्नो जीवनको झण्डै १७ वर्ष फुच्येन प्रान्तलाई दिएका थिए।

यसबीच उनले चिनियाँ कम्युनिस्ट पार्टीको फुच्येन प्रान्त समितिका उपसचिव, फुच्येन प्रान्तका प्रमुख, फुच्येन प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका प्रमुख, फुच्येन प्रान्तको तोपखानाका प्रथम राजनीतिक कमिसनरको पद पनि सम्हालेका थिए।

सन् १९९९ देखि २००२ सम्म नानचिङ सैनिक शाखा क्षेत्रको राष्ट्रिय प्रतिरक्षा समितिका उपप्रमुखको कार्यभार पनि सम्हालेका थिए।

सीले छिङह्वा विश्वविद्यालयबाट मानविकी तथा समाजशास्त्र विषयअन्तर्गत माक्सवादी सिद्धान्त तथा वैचारिक राजनीतिक शिक्षण विषयको अध्ययनका साथै कानुनमा विद्यावारिधि उपाधि लिएका  छन्।

उनले पाँच वर्ष चच्याङ प्रान्तमा पनि बिताएका थिए। सन् २००२ मा चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत चच्याङ प्रान्त समितिका उपसचिव, चच्याङ प्रान्तका कार्यवाहक प्रमुख, चच्याङ प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिको प्रमुख हुँदै २००७ सम्म चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत चच्याङ प्रान्त समितिको सचिव, चिनियाँ कम्युनिस्ट पार्टीको चच्याङ प्रान्तको सैनिक समितिको प्रथमसचिव, चच्याङ प्रान्तको जनकांग्रेसको स्थायी समितिको प्रमुखको कार्यभार सम्हालेका थिए।

सन् २००७ मा चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत साङहाई सहर समितिका सचिवका साथै चिनियाँ कम्युनिस्ट पार्टीको साङहाई रक्षक सेनाका प्रथम सचिव भएका थिए।

सन् २००७ देखि चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको स्थायी सदस्य, चीनको केन्द्रीय सचिवालयको सचिव, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पार्टी स्कुलको प्रमुखको जिम्मेवारी वहन गर्दै सन् २००८ मा जन गणतन्त्र चीनको उपराष्ट्रपति भएका थिए।

चीनको उपराष्ट्रपतिसँगै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको स्थायी सदस्य, चीनको केन्द्रीय सचिवालयको सचिव, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पार्टी स्कुलको प्रमुखको जिम्मेवारीबाहेक सन् २०१० बाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सैन्य आयोगको उपाध्यक्ष र चीनको केन्द्रीय सैन्य आयोगको उपाध्यक्ष पनि भएका थिए।

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको महासचिव, चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सैन्य आयोगका अध्यक्ष भएका थिए।

यसरी उनले जनतालाई केन्द्रमा राखेर जनतामा समर्पित रहँदै गाउँ सचिवदेखि महासचिवसम्मको गन्तव्य पछ्याएका छन्। सन् २०१३ देखि जनगणतन्त्र चीनका राष्ट्रपति तथा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षको पद सम्हाल्दै सीले रहस्यमय चीनलाई साझा हित र जितको संकल्पसँगै विश्वका जनतासमक्ष प्रसार गरिरहेका छन्।

उनले अघि सारेको नवीन रेशममार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ आज विश्वमा व्यापक रूपमा स्वागतयोग्य अन्तर्राष्ट्रिय सहयोग मञ्च बनेको छ। सीले सन् २०१३ मा प्राचीन रेशममार्गलाई ब्युताउँदै साझा हितसँगै विश्वलाई जोड्ने बेल्ट एन्ड रोड इनिसिएटिभको अवधारणा विश्वसमक्ष प्रस्तुत गरेका थिए। विश्वका १४६ वटा देश र ३२ वटा अन्तर्राष्ट्रिय संघसंस्था चीनसँग सहकार्य गर्ने दस्तावेजमा हस्ताक्षर गरेका छन्। यसअन्तर्गत खर्बौँ डलरका परियोजना सञ्चालित छन्।

साथै विकासोन्मुख राष्ट्रमा भौतिक पूर्वाधार निर्माण र विकासका लागि सन् २०१६ मा एसियाली पूर्वाधार बैंक स्थापना गरिएको छ। उनले सुधार तथा खुलापनको प्रवर्द्धन गर्दै विश्वकै पहिलो अन्तर्राष्ट्रिय आयात मेलाको अवधारणा अघि सारेका छन्।

सन् २०१८ देखि साङहाईले चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको सफल आयोजना गर्दै आएको छ। उनले विश्वसमक्ष ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ र ग्लोबल सेक्युरिटी इनिसिएटिभको प्रस्ताव पनि राखेका छन्। गरिबी न्यूनीकरण, जलवायु परिवर्तन, खाद्य सुरक्षा र हरित विकासजस्ता क्षेत्रमा विश्वसँग थप सहकार्यका लागि आह्वान गरेका छन्।

चिनियाँ राष्ट्रपति सीले मानव भाग्य समुदायका लागि साझा भविष्यको पैरवी गर्दै आएका छन्। पृथ्वीलाई एउटा डुंगासँग तुलना गर्दै देशदेशबीच साझा हित र जित, सहकार्य, शान्तिपूर्ण सहअस्तित्व र एकअर्कालाई सम्मान गर्नुपर्ने उनको आग्रह छ। उनले अमेरिका र चीन कथित द्वन्द्वमा फस्न नहुने र सहकार्य तथा सहयोग नै उत्तम विकल्प भएको दोहोर्याउँदै आएका छन्।

साथै उनले छिमेकी देशसँग मित्रवत् सम्बन्ध कायम राखेर पारस्परिक लाभ लिन जोड दिएका छन्। राष्ट्रपति सीले प्राय सबै छिमेकी देशको भ्रमण गरिसकेका छन्। उनले सन् २०१९ मा नेपालको भ्रमण गरेका थिए। चिनियाँ राष्ट्रपतिका तर्फबाट उक्त उच्चस्तरीय भ्रमण २३ वर्षपछि भएको थियो। उनले चीनको विकासबाट छिमेकी देशलाई लाभ लिन सहकार्यका लागि आह्वान गरेका छन्।

उनको नेतृत्वमा विशाल चीनले चौतर्फी रूपमा फड्को मारेको छ। बितेको दशकमा चीनले वातावरण संरक्षणमा ऐतिहासिक सुधार देखेको छ। संयुक्त राष्ट्रसंघको भर्चुअल भेलामा सीले चीनले सन् २०६० भन्दा पहिले कार्बन तटस्थता हासिल गर्ने घोषणा गरेका छन्।

यसबाहेक विज्ञान तथा नवप्रविधि साथै अन्तरिक्ष अन्वेषण, अनुसन्धानलाई अगाडि बढाएका छन्। वल्ड इन्टलेक्च्युल प्रोपर्टी अर्गनाइजेसनले सार्वजनिक गरेको ग्लोबल इनोभेसन इन्डेक्समा चीनको स्थान सन् २०१२ को ३४औँ स्थानबाट बढेर सन् २०२२ मा ११औँ स्थानमा पुगेको छ।

सन् २०१२ देखि २०२१ को बीचमा चीनको अनुसन्धान र विकास खर्च १ ट्रिलियन युआनबाट बढेर २.८ ट्रिलियन युआन पुगेको छ, विश्वमा दोस्रो स्थानमा छ। सैन्य क्षेत्रमा पनि व्यापक सुधार गरेका छन्। योसँगै चीनको सैन्यबल पनि विश्वमा शक्तिशाली बन्दै गइरहेको छ।

अद्भुत सफलता हासिल गर्दै विश्वलाई आश्चर्यचकित बनाएको चीनले बितेको एक दशकमा करिब १० करोड जनतालाई चरम गरिबीबाट बाहिर निकालेको छ। सन् २०१३ मा सीले 'लक्षित गरिबी निवारण' अभियान सुरु गर्दै त्यसको कार्यान्वयन थालेका थिए।

उनले सीपीसीको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारविरोधी अभियान पनि चलाएका छन्। ‘यदि हामीले केही सय भ्रष्ट अधिकारीहरूलाई उम्कन दियौँ भने हामी सबै १.३ अर्ब चिनियाँ जनतालाई निराश पार्ने छौँ,’ सीले दस वर्षअघि भनेका थिए। भ्रष्टाचारविरूद्ध व्यापक कारबाही चाल्नु सीको महत्त्वपूर्ण उपलब्धि हो। सुशासनलाई केन्द्रबिन्दुमा राखेर सीले पार्टी तथा राष्ट्रिय अंगको समेत पुनःसंरचना गर्दै राष्ट्रिय सुपरीवेक्षण आयोगको गठन गरेका छन्।

सोही कारण पार्टीका कार्यकर्ताहरू भ्रष्टाचारविरोधी अभियान कहिल्यै समाप्त हुने छैन भन्ने कुरामा सचेत छन्। सीपीसीका ९ करोड ६० लाख भन्दा बढी सदस्य र ४९ लाख प्राथमिक तहका संगठनमा शुद्धता कायम राख्नुपर्ने जोड सीको छ। उनले पार्टीको समग्र नेतृत्वलाई नै चीनलाई एक महान आधुनिक समाजवादी मुलुकका रुपमा निर्माण गर्न आह्वान गर्दै आएका छन्।

राष्ट्रपति पद सम्हालेको पाँच वर्षपछि सीले सन् २०१७ मा सी विचारधारा प्रस्तुत गरेका थिए। नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिनफिङ विचारलाई सीपीसीको १९औँ महाधिवेशनमा मार्गदर्शक सिद्धान्तका रूपमा पार्टीको विधानमा स्थापना गरिएको छ। नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादका लागि सी विचारधाराको मुख्य लक्ष्य ‘दुई शताब्दी’ लक्ष्य तथा चिनियाँ राष्ट्रको पुनःउत्थानको चिनियाँ सपनालाई पूरा गर्नु हो।

तीमध्ये चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी लक्ष्य सन् २०२० सम्म पूर्ण रूपमा गरिबी निर्मूल पार्दै सन् २०२१ मा आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय विकास र कानुनी शासनसँगै सामान्य समृद्ध मुलुक बनाउने लक्ष्य भेट्टाइसकेको छ।

अब नयाँ चीन स्थापनाको शतवार्षिकीमा सन् २०४९ मा समग्र चिनियाँ जनताको साझा समृद्धि तथा समृद्ध, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा अग्रणी, सौहार्द, सभ्य र सुन्दर आधुनिक समाजवादी शक्तिशाली मुलुक बनाउने रहेको छ।

उनले चिनियाँ जनतालाई महान भावना, असल नैतिकता र उच्च आकांक्षाको साथमा अघि बढ्दै गुणस्तरीय शिक्षा, उत्तम स्वास्थ्य सेवा तथा आमनागरिकको आरामदायी जीवनका लागि निरन्तर प्रयास गर्दै समृद्ध समाजको निर्माण गर्न आह्वान गर्दै आएका छन्।

सीले जनताप्रति समर्पित रहँदै हरेक वर्षान्त र विभिन्न अवसरमा विभिन्न प्रान्त र सहरको निरीक्षण भ्रमण गर्ने गरेका छन्। उनले समाजवादी लोकतन्त्रको विकासका लागि बृहत् प्रयासको आह्वान गर्दै ‘सम्पूर्ण प्रक्रियागत जनताको जनवाद’ को अवधारणालाई प्रवर्द्धन गरेका छन्।

सीपीसीको २०औँ महाधिवेशन चीनको आधुनिकीकरण अभियानमा नयाँ केन्द्रीय नेतृत्व चयनसँगै नयाँ यात्रा सुरु भएको छ, जहाँ सी चिनफिङलाई पार्टीको कोर मानिएको छ। पारित प्रस्तावमा भनिएको छ, ‘सीलाई कोर रूपमा स्थापना गर्दै सीको विचारको मार्गदर्शक भूमिकाले पार्टीलाई दीर्घकालीन शासन, देशको सुरक्षा र स्थायित्व र जनताको भलाइलाई कमजोर पार्ने गम्भीर समस्या र चुनौतीहरूको सफलतापूर्वक समाधान गर्न सक्षम बनाएको छ।'

२०औँ महाधिवेशनको पहिलो पूर्ण बैठकपछिको पत्रकार सम्मेलनमा सीले ‘हामी पार्टीको प्रकृति र उद्देश्य र हाम्रो आफ्नै मिसन र जिम्मेवारीलाई ध्यानमा राख्नेछौँ र पार्टी र हाम्रा जनताको ठूलो विश्वासमा योग्य साबित हुन आफ्नो कर्तव्यपालनमा लगनशील भएर काम गर्ने छौँ,’ भनेका थिए।

सीका अनुसार चीनको आधुनिकीकरणले विशाल जनसंख्यालाई समेट्नुपर्छ, साझा समृद्धितर्फ लैजानुपर्छ, भौतिक, सांस्कृतिक र नैतिक प्रगति प्रदान गर्नुपर्दछ, मानवता र प्रकृतिबीच सद्भावलाई बढावा दिनुपर्दछ र शान्तिपूर्ण विकासको मार्गमा अगाडि बढ्नुपर्छ। सीले भनेका छन्, ‘अगाडिको यात्रा लामो र कठिन छ, तर दृढ संकल्पसाथ हामी आफ्नो गन्तव्यमा पुग्नेछौँ।’

चीनको नयाँ यात्रा सुरु भएको छ। सन् २०३५ सम्ममा चीनले मूलतःआधुनिकीकरण हासिल गरिसक्नेछ। राष्ट्रपति सीले चीनलाई आधुनिकीकरणको अद्वितीय चिनियाँ मार्ग पछ्याएर राष्ट्रिय कायाकल्प गर्न र मानव भाग्य समुदायका लागि साझा भविष्यको प्रयास जारी राख्नेछन्। चीनको आधुनिकीकरणको बाटो चिनियाँ जनताका लागि मात्रै होइन, आफ्नो स्वतन्त्रताको रक्षा गर्दै विकासलाई गति दिन चाहने राष्ट्रहरूका लागि पनि उपयुक्त हुने देखिन्छ।

(हिमालप्रेसमा कार्तिक १२, २०७९ मा प्रकाशित)