हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन
2022-11-03 15:57:57CRI
Share with:

कोइला अभावका कारण बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ। कोइला अभावसँगै उद्योगको किल (क्लिङ्कर उत्पादन गर्ने) मा समस्या आएका कारण गत साउन महिनादेखि उद्योगको उत्पादन ठप्प रहेको थियो। उद्योगका प्रवक्ता अशोक गौतमले कोइला आपूर्ति हुन थालेसँगै बन्द उद्योगबाट क्लिङ्कर उत्पादन प्रक्रिया सुरु भएको जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उद्योगमा कोइला आपूर्ति भएसँगै उद्योग सञ्चालनमा आए पनि अझै पर्याप्त कोइला मौज्दात नभएका कारण जुनसुकै समयमा उद्योगको उत्पादन बन्द हुने जोखिम टरेको छैन। उद्योगमा अहिले दुई हजार टन मात्र कोइला मौज्दात छ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले नियमित रूपमा कोइला आपूर्ति भएमा सिमेन्ट उत्पादनले निरन्तरता पाउने बताउनुभयो। उहाँले दैनिक २५० देखि तीन सय टनसम्म कोइला खपत हुने र कोइला आउने क्रम जारी रहेको बताउँदै बिहीबारदेखि थप परिणाममा कोइला आउने छ भन्नुभयो।उद्योगमा हाल मौज्दात रहेको कोइलाले एक साता मात्र उद्योग सञ्चालनमा आउन पुग्नेछ। 

उद्योगमा मङ्गलबार र बुधबार गरी करिब छ सय टन कोइला आपूर्ति भएको थियो। कोइला आपूर्तिको ठेक्का पाएको कम्पनीले भारत, इन्डोनेसियालगायतका मुलुकबाट उद्योगका लागि कोइला आपूर्ति गर्दै आएको छ।

नायब महाप्रबन्धक कर्णका अनुसार हाल उद्योगमा करिब १२ हजार बोरा सिमेन्ट प्याकिङ गर्ने क्लिङ्कर रहेको छ र प्याकिङ भएको सिमेन्ट बजारमा बिक्री भइरहेको छ। उद्योग प्रशासनले दशैँअघि नै कोइला आपूर्ति हुने र उद्योग सञ्चालनमा आउने यसअघि बताएको थियो। उद्योगले बिक्री प्रवद्र्धन नीतिको अभावमा उत्पादन भएको सिमेन्ट समयमा बिक्री गर्न नसक्ने समस्या लामो समयदेखि खेप्दै आएको छ।

बिक्री प्रवद्र्धन नीतिको अभावमा नै निजी उद्योगका उत्पादनभन्दा महँगो पर्न जाँदा हेटौँडा सिमेन्ट उद्योगको सिमेन्टको माग कम रहेको छ। 

उद्योगका प्रवक्ता गौतम निजी क्षेत्रका उद्योगको सिमेन्टभन्दा हेटौँडा सिमेन्टको मूल्य बढी भएकाले मूल्यमा प्रतिस्पर्धा गर्न नसकी बिक्री नहुने समस्या रहेको बताउनुहुन्छ। हेटौँडा सिमेन्टको उद्योग द्वार मूल्य ५० केजीको प्रतिबोरा ७४६.९३ रुपियाँ रहेको उद्योगले जनाएको छ।

शक्ति ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको वार्षिक उत्पादन जडित क्षमता ५२ लाख बोरा रहेकोमा आर्थिक वर्ष २०७७÷७८ सम्म वार्षिक ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राख्ने गरेको थियो। लक्ष्यअनुसार सिमेन्ट उत्पादन गर्न नसकेपछि उद्योग व्यवस्थापनले गत आर्थिक वर्षबाट वार्षिक उत्पादन लक्ष्य २५ लाख बोरामा झारेको छ। तर, पछिल्लो पटक निर्धारण गरेको लक्ष्यसमेत उद्योगले गत आर्थिक वर्ष पूरा गर्न सकेन।

आव २०७७/७८ मा १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट उत्पादन गरेको उद्योग उद्योगले गत आर्थिक वर्ष १६ लाख १३ हजार ९६४ बोरा मात्र उत्पादन गरेको उद्योगले जानकारी दिएको छ।

आव २०७६÷७७ मा उद्योगको खुद नोक्सान १७ करोड चार लाख २२ हजार रुपियाँ रहेको सोही आवसम्ममा सञ्चित नोक्सान ७८ करोड ८७ लाख २२ हजार पुगेको अर्थ मन्त्रालयको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७९ मा उल्लेख छ। यस्तै उद्योगले नेपाल सरकारलाई बुझाउनुपर्ने ऋण १२ करोढ र ब्याज एक करोड नौ लाख २० हजार रुपियाँ रहेको छ।