आउँदो बर्खासम्म मुगुमा राष्ट्रिय प्रसारण लाइन पुग्ने
2022-11-03 15:59:01CRI
Share with:

हिमाली जिल्ला मुगुमा आउँदो बर्खासम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ। बुधबार मुगु र हुम्लामा विद्युत् जेनेरेटर अनुगमन तथा निरीक्षण गर्न आउनु भएका कार्यकारी निर्देशक घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बाचा गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

कर्णालीको जुम्ला र कालिकोटमा राष्ट्रिय प्रसारण लाइन पुगिसकेको बताउँदै उहाँले जुम्लादेखि मुगुसम्म पोल गाड्ने काम सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइन विस्तार हुने बताउनुभयो। एडीबीको सहयोगमा कर्णालीका ५ जिल्लामा दुईदुई मेगावाटको सोलार विद्युत् उत्पादन गर्ने कार्य भइरहेको छ।

मुगु र हुम्लामा दिनको ५ घण्टा उज्यालोको लागि २ सय ४० केभीको जेनेरेटर समेत प्राधिकरणले व्यवस्था गरेको छ। गत असोज १९ देखि २३ गते सम्मको भीषण वर्षातले मुगुको गमगढी जलविद्युत् आयोजना र हुम्लाको हिल्दम खोला जलविद्युत् आयोजना पहिरोले तहसनसह पारेपछि प्राधिकरणले वैकल्पिक व्यवस्थाका रुपमा २ सय ४० केभीको जेनेरेटर व्यवस्था गरेको छ। करिब तीन सातादेखि मुगु सदरमुकाम गमगढी आसपासका गाउँ र हुम्ला सिमकोट वरपरका बस्ती अन्धकारमय छन्।