चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक महिनामा सचालनमा आउने
2022-11-03 15:55:53CRI
Share with:

चिनियाँ सहयोगमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हो। ३ हजार ८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको निर्माण लागत लगभग २१.६ करोड अमेरिकी डलर (झन्डै २९ अर्ब रुपैयाँ) छ। यो विमानस्थल चीनले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरिसकेको भए पनि अझै सञ्चालनमा आउन नसकेको सेतोपाटी अनलाइनले लेखेको छ।

विमानस्थल सञ्चालनमा नआउनुका मुख्य तीन कारण छन्। पहिलो, यो विमानस्थलमा अवतरण गर्ने जहाजले अप्रोच गर्ने ठाउँमा भएको रिठ्‍ठेपानी डाँडा। उक्त डाँडा कटानको काम अहिलेसम्म भएको छैन। यसको ठेक्का प्रक्रिया बल्ल चलिरहेको छ।

दोस्रो, भनेको विमानस्थल सञ्चालनका लागि यसको वरपर चराचुरङ्गीका गतिविधि घटाउनु पर्छ। यो विमानस्थलको नजिकैको क्षेत्रमा रहेको ल्याण्डफिल साइटका कारण विमानस्थल क्षेत्रमा चराहरू उडिरहन्छन्। त्यसैले ल्याण्डफिल साइट नहट्दासम्म विमानस्थल क्षेत्रमा चराहरूको गतिविधि कमी नआउने हुँदा पहिले ल्याण्डफिल साइटलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ।

तेस्रो, विमानस्थलमा असार र साउन महिनामा बाढीको समस्या हुने गर्छ। बाढीले विमानस्थलको रनवेमा समेत प्रभाव पार्ने हुँदा पहिले यसको व्यवस्थापन हुन जरूरी छ।

विमानस्थल सञ्चालनमा आउनुअघि क्यालिब्रेसन फ्लाइट गर्नुपर्ने हुन्छ। त्यसका लागि रिठ्ठेपानी डाँडा १४ मिटर काट्नुपर्ने हुन्छ। विमानस्थलका प्रमुख विनेश मुनकर्मीले काम सुरू भएको अवस्थामा एक महिनाभित्र रिठ्ठेपानी डाँडा काट्ने काम सकिने बताउनु भएको छ।

हालसम्म विमानस्थलको ९९ प्रतिशत काम सकिएको उल्लेख गर्दै मुनकर्मीले भन्नुभयो, ‘काम सुरू भयो भने रिठ्ठेपानी डाँडा काट्ने काम एक महिनाभित्र सकिन्छ। साथै यही डाँडाबाट निस्केको माटोले ल्याण्डफिल साइटलाई पनि पुर्न सकिन्छ।

यसरी ल्याण्डफिल साइटलाई पुरेपछि विमानस्थल परिसरमा चराहरूको आगमन पनि कम हुने उहाँको विश्वास छ। अर्कोतर्फ विमानस्थलमा वर्षाको समयमा बाढीबाट हुने समस्या रोक्न पानी निकासा गर्ने प्रविधिको प्रयोग गरिने उहाँले जनाउनुभयो।

प्रमुख मुनकर्मीले अहिले विमानस्थलको निर्माण कार्य सम्पन्न हुन लागेको उल्लेख गर्दै अब क्यालिब्रेसन फ्याइटका लागि तयारी भइरहेको बताउनुभयो। उहाँले क्यालिब्रेसन फ्लाइट भएपछि विमानस्थलको काम सम्पन्न हुने जनाउनुभयो।