थप बाइस मेगावाट विजुली भारत निर्यात गर्न अनुमति
2022-11-04 16:10:17cri
Share with:

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री प्रस्ताव यसअघि नै गरेको थियो।  

प्राधिकरणले विभिन्न चार जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो। 

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखुखोला ‘ए’, २५ मेगावाट क्षमताको काबेली ‘बी’–१, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेँवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव गरिएको थियो।  त्यसअघि ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, २४ मेगावाटको लिखुखोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलुखोला, २२ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित १११ मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको थियो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै आउनुभएको थियो। 

चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो। त्यसपछिको विवरण पनि आउने क्रममा छ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ देखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। 

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपियाँ खुद आम्दानी भएको थियो। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपियाँ ९१ पैसा रहेको छ। 

सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ गतेदेखि विभिन्न छवटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको थियो। आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरकफरक हुने गरेको छ।