पाँचौ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा चिनियाँ राष्ट्राध्यक्षको उद्घाटन सम्बोधन विश्व शान्ति र विश्व बन्धुत्वका लागि अनुकरणीय रहेको चीनका लागि पूर्व नेपाली राजदूतको भनाइ
2022-11-04 21:28:18cri
Share with:

नोभेम्बर ४ तारिख बेलुका शाङहाइमा पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन भएको छ। उद्घाटन समारोहलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भिडियो मार्फत सम्बोधन गर्नुभयो। राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन सुनेपछि चीनका लागि पूर्व नेपाली राजदूत तथा नेकपा एमालेका नेता महेन्द्र बहादुर पाण्डेले चाइना मिडिया ग्रुपको नेपाली सेवालाई संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ।

अन्तर्वार्ताका क्रममा पाण्डेले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको आर्थिक समृद्धि र प्रगतिबाट विश्वले लाभ लिन सक्ने कुरा उल्लेख गर्नुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनमा सी चिनफिङले प्रस्तुत गर्नु भएको आर्थिक कार्यक्रमकै आधारमा पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा पनि विश्वव्यापीकरणमा सबैले हातेमालो गर्नुपर्ने र सबै मिलेर अगाडि बढेमा सबैको जित हुने बताउनु भएको पाण्डेले उद्धृत गर्नुभयो।

एक्लै हिँडेर कहीँ पुगिदैन तर सँगै गएमा अवश्य लक्ष्यमा पुगिन्छ भन्ने सन्देश राष्ट्राध्यक्ष सी चिनफिङले दिनु भएको भन्दै विश्व शान्ति तथा विश्व वन्धुत्वका लागि यतिबेला चीनले विश्वको नेतृत्व गरेको कुरा विश्वले बुझेको पाण्डेले बताउनुभयो। यतिबेला विश्वमा गरिबी ठूलो समस्याका रुपमा रहेको तर चीनले गरिबी उन्मूलन गरेर ठूलो काम गरेको भन्दै चीनको आर्थिक प्रगतिबाट नेपालले पनि लाभ लिनुपर्ने भन्दै पाँचौ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोबाट नेपाली उत्पादनलाई चिनियाँ बजार प्रवर्द्धन हुने कुरामा नेपाल आशावादी रहेको उहाँले बताउनुभयो।

चीनले विश्वव्यापीकरण र बहुध्रुवीय सोच अगाडि सारेको र यस्तो सोचले नेपाल जस्तो विकासोन्मुक मुलुकलाई फाइदा गर्ने भन्दै चीनको अशल छिमेकी मुलुक भएकाले नेपालले चीनबाट धेरै सिक्न सक्ने र धेरै लाभ प्राप्त गर्ने कुरामा कुनै शङ्का नरहेको स्पष्ट पार्नुभयो।

पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोले विश्वको ध्यान खिचेको र चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विश्वलाई उज्यालो भविष्य तर्फ लाग्न तथा साझा मानव भाग्य समुदाय निर्माण गर्नका लागि गर्नु भएको आह्वानले सबैलाई खुशी दिएको चीनका लागि पूर्व नेपाली राजदूत पाण्डेले बताउनुभयो।