चिनियाँ र नेपाली लगानीको हिमालय एयरलाइन्सद्वारा भैरहवाबाट क्वालालम्पुर उडान सुरु
2022-11-04 16:09:11cri
Share with:

आफ्ना यात्रुलाई मात्रै सेवा दिने गरी नागरिक उड्डयन प्राधिकरणबाट ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को अधिकार पाउने भएपछि हिमालय एयरलायन्सले बिहीबार मलेसियाको क्वालालम्पुर–भैरहवा–क्वालालम्पुर चार्टर उडान थालेको छ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार हिमालय एयरलायन्सको न्यारोबडी विमान १ सय ३५ नेपाली यात्रु लिएर क्वालालम्पुर उडेको थियो। नेपाल र चीनको संयुक्त लगानीको हिमालय एयरलाइन्सको उक्त उडानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र हिमालय एयरलायन्सका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले बिदाइ गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। हिमालयका उपाध्यक्ष श्रेष्ठले आफूहरुले भैरहवाबाट मलेसिया नियमित उडान गर्ने बताउनुभयो।

काठमाडौंबाट क्वालालम्पुर पुगेको हिमालयको न्यारोबडी विमान उताबाट रित्तै साढे १२ बजे भैरहवा फर्किएको थियो। आफ्नो पहिलो मलेसिया चार्टर उडानका लागि हिमालयले १ सय ३५ जना यात्रुलाई बुधबार राति काठमाडौंबाट भैरहवा लगेको थियो। चार्टर उडानमार्फत भैरहवाबाट अन्तर्राष्ट्रिय यात्रु सेवा दिने हिमालय पहिलो नेपाली वायुसेवा भएको छ।

कुबेतको जजिरा एयरवेज यहाँबाट उडान भर्ने पहिलो वायुसेवा हो। उसले जेठ २ देखी कुबेत–भैरहवा–कुवेत उडान गरेको थियो। यी दुईबाहेक भैरहवामा अहिलेसम्म भियतनाम, माल्टा र क्यानडाबाट गरी तीनवटा वायुसेवाले चार्टर उडान गरिसकेको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिनुभयो।

हाल काठमाडौं जस्तै चौबिसै घन्टा खुला रहने गौतम बुद्ध विमानस्थलमा कार्तिक १२ देखि मध्यपूर्वी मुलुक कुवेतको ध्वजाबहाक वायुसेवा कुबेत एयरवेजले पनि उडान थाल्ने पर्यटन सचिव अधिकारीले बताउनुभयो। प्राधिकरणका महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना भएको र बुद्ध जयन्तीका दिन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको विमानस्थल बौद्धमार्गी पर्यटक र श्रम बजारमा जाने नेपालीका लागि प्राथमिकतामा परेकाले यी क्षेत्रसँग सम्बन्धित सेवा तथा पूर्वाधारलाई जोड्न प्राधिकरणले मुख्यसचिवको समन्वयमा बैठकहरु गर्दै आएको बताउनुभयो। उहाँले अब काठमाडौंमा दैनिक तीनभन्दा बढी उडानको प्रस्ताव गर्ने वायुसेवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तालिका (स्लट) नदिइने बताउनुभयो।

काठमाडौं विमानस्थलले क्षमताभन्दा बढी उडान चाप ब्यहोरिरहेकाले भैरहवा र चाँडै सञ्चालनमा ल्याउन लागिएको पोखरामा प्राधिकरणकेन्द्रित हुने अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार भैरहवामा उडान संख्या वृद्धि गर्न आन्तरिक उडानमा रहेका घरेलु वायुसेवासँग छुट लगायतका प्याकेज दिलाउने सहमति भइसकेको छ। काठमाडौंबाहिर उडान नगरे नेपाल वायुसेवा निगमलाई ग्राउन्ड ह्याण्डलिङ गर्न नदिइने अधिकारीको भनाइ छ। उहाँका अनुसार पोखरा विमानस्थल संचालनमा आएमा त्यहाको ग्राउन्ड ह्याण्डलिङ प्राधिकरणले नै गर्नेछ।